काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफैँले सुन तस्करी गरिरहेको आरोप लगाएका छन् । स्वर्ण युगको झल्को दिनेगरी सरकार आफैँ सुन तस्करीमा संलग्न रहेको ओलीको जिकिर थियो ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सुन तस्करी प्रकरण चलाउनेहरु आफैँले स्वर्ण युग आयो भनेर भनिरहेको भन्दै सरकारप्रति कटाक्ष पनि गरे ।
‘सुन फल्छ भनेर यहाँ काठमाडौं आएको, यहाँ त नुन पनि पाइँदो रहेनछ भन्ने कसैले भनेका छन् । तर यहाँ त (ब्रेक सु) मा सुनैसुन । भेपमा सुनैसुन । सिग्रेट खान खोज्यो सुनैसुन । पानी चलाउने मोटर ल्यायो, सुनैसुन । जे छोयो, त्यो सुनैसुन । स्वर्ण युग आयो भन्दैछ सरकार । यति सुन आएको छ । फेरि स्वर्ण युग नआए कहिले आउँछ त ? भन्दैछ सरकार ।
उनले भने, ‘नुन पनि पाइँदैन भन्दा सरकारको विरोध गरे जस्तो हुँदैन । स्वर्ण युग नै आएको छ । उहिले हामी गोल्डेन टच भन्ने पढथ्यौँ । त्यस्तै भएको छ । केरुङ भन्सारबाट आउने ट्रकहरुमा सुन बोकिन्छ । पहिले(पहिले रातो चन्दन उत्तर लगिन्थ्यो, अहिले उत्तरतिरबाट सुन ओरालो झारिन्छ ।’
चिल आयो, चिल आयो भनेर देखाउने अनि कुखुरा आफू बोकेर कुद्ने शैली सरकारले अपनाएको ओलीको टिप्पणी थियो । उनले देशको अवस्था नाजुक भएको उल्लेख गर्दै यस्तो अवस्थामा परिवर्तन ल्याउनै पर्ने जनाए ।
‘म काण्डहरु चलेका छन् भनिराखेको छैन, चलाएका भनिराख्या छु । यस्ता काण्डहरु चलाउनु हुँदैन । यस्ता काण्ड चलाएर अनि देश विकास हुन्छ ? चिल आयो, चिल आयो भन्ने अनि कुखुरा यतातिर बोकेर कुँद्ने ?,’ उनले भने, ‘सरकारको आलोचना खास गर्न चाहन्न । तर अवस्था नाजुक छ ।’
