काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देशको माया गर्ने, जनताको माया गर्ने सबैले कांग्रेसलाई पनि समाजवादी मोर्चामा ल्याउने पहल गर्नुपर्ने बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित ‘संविधान, समाजवाद र मानव अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कांग्रेसलाई पनि समाजवादी मोर्चामा ल्याउने आँट गर्नुपर्ने बताएका हुन् ।
त्यस्तै उनले सरकारमा रहनका लागि समाजवादी मोर्चा गठन नभएको बताएका छन् । सरकारमा जान, मन्त्री खान समाजवादी मोर्चा गठन नभएको उनको स्पष्टोक्ति थियो ।
महासचिव विप्लवले नेपाल विघटन हुन्छ कि भन्ने अवस्थामा पुगेकाले त्यसलाई जोगाउने उद्देश्यका साथ सो मोर्चामा आफूहरूले भाग लिएको पटकपटक दोहोर्याए ।
उनले भने, ‘नेपाल विघटन हुन्छ कि भन्ने ठाउँमा पुग्नसक्छ । यो हेक्का राखिराख्नुस् । नेपाल एकदमै नराम्रो ठाउँमा पुगेको छ । यो संवेदना त्यसले मात्रै बुझ्छ, जो कुर्सी, पद र धनको स्वार्थभन्दा माथि उठ्छ । त्यसले मात्रै बुझ्न सक्छ त्यो । निस्शर्त दाउमा राखेर लड्ने मानिसले मात्रै बुझ्ने कुरा हो नि यो ।
सानासाना पाइला चाल्नेले त्यो कुरा भन्नै सक्दैन । हो यही परिस्थितिलाई समाजवादी मोर्चालाई जायज ठहर्याएको छ । र, यो वस्तुवादी कुरा हो । यो गर्नैपर्छ । त्यो मात्रै होइन सारा कम्युनिस्टहरूलाई एउटै मोर्चामा ल्याउनेगरी सोच्नुपर्छ । हामीले बहस गर्ने आँट गर्नु पर्छ ।’
महासचिव विप्लवले नेपालको संविधान पनि परिवर्तन गर्नुपर्ने बताए । जनताको चाहनालाई प्रतिविम्ब नगरेकाले नेपालको संविधान परिवर्तन गर्नुपर्ने उनको भनाई थियो ।
