काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्व. सुवास नेम्वाङलाई भेट्न नपाएको गुनासो गरेका छन् । आज बिहान दुई नेताबीच भेट्ने कुरा भएपनि त्यसअघि नै नेम्वाङको निधन भएको हो ।
संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य नेम्वाङको ७१ वर्षको उमेरमा मंगलबार बिहान असामयिक निधन भएको थियो ।
अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अस्तिको दिन सुवासजी धरानको कार्यक्रमबाट फर्केपछि फोनमा कुरा भएको थियो । उहाँको बोली सधैँ झैँ सहज थियो । मंगलबार बिहान भेट्ने कुरा भएको थियो । तर आज मंगलबार नै उहाँको पार्थिव शरीर हेरेर बिदाइ गर्न विवश भएँ । भावपूर्ण श्रद्धासुमन !’
नेम्वाङको अन्तिम संस्कार भदौ २८ गते बिहीबार हुने भएको छ । सरकारले सो दिन सार्वजनिक विदा समेत दिने निर्णय गरेको छ ।
