काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङको निधनले मर्माहत भएको बताएका छन् ।
महाराजगन्जस्थित शिक्षण अस्पतालमा मंगलबार बिहान पुगेर प्रधानमन्त्री दाहालले नेम्वाङप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका हुन् ।
यसैबिच नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध भएको बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै सभापति देउवाले संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङको निधनले स्तब्ध भएको बताएका हुन् ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पनि नेम्वाङप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् ।
संविधानसभाका अध्यक्ष नेम्वाङको पार्थिव शरीर केहीबेरपछि पार्टी केन्द्रीय कार्यालयमा लगिने एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिए ।
नेम्वाङको पार्थिव शरीर आज दिनभर पार्टी कार्यालयमा राखिने र बुधबार अन्त्येष्टि गरिने जनाइएको छ ।
काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि अस्पताल लैजाने क्रममा सोमबार राति नेम्वाङको निधन भएको हो ।
