काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले लामो समय सत्ता चलाएकाहरुको सातो गएको बताएका छन्।
समाजवादी मोर्चाले हेटौंडामा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
यसपटक सरकारको नेतृत्व गरिरहँदा देश र जनताको पक्षमा देखिनेगरी काम शुरु गर्ने आफ्नो योजनाअनुरुप भ्रष्टाचारविरुद्ध निर्मम भएर काम गरिरहेको प्रचण्डले दावी गरे ।
उनले सरकार भ्रष्टाचारलाई निर्मूल पार्दै सामाजिक न्याय र सुशासन कायम गर्न कुनै पनि मूल्य चुकाउन तयार रहेको प्रष्ट पारे ।
हिजो कुशासन चलाउनेहरु अहिले सरकारले शुरु गरेको अभियानबाट आत्तिएर सरकारविरुद्ध षड्यन्त्र र घेराबन्दी गरिरहेको प्रधानमन्त्रीको भनाई छ ।
सरकारको अभियानबाट आत्तिएका प्रतिक्रियावादीहरुले विभिन्न नाममा एकजुट भई विस्तृत शान्तिसम्झौताको भावना र संविधानको मर्म विपरीत सरकारविरुद्ध सबैखाले षड्यन्त्र र तानाबाना बुन्नु तल्लिन रहेको पनि उनले बताए ।
‘सरकारले जसरी एकपछि अर्को भ्रष्टाचारका काण्डहरु खोल्दै गएको एकाथरीलाई मन परेको छैन त्यसैगरी उनीहरु सरकारविरुद्ध लागेका छन् । हिजो अनेकन भ्रष्टाचारका काण्ड मच्चाउनेहरु एकजुट भएर सरकारविरुद्ध लागेका छन् । कुनै पनि षड्यन्त्र,गुटबन्दी र धम्कीले सरकार अभियानबाट पछि हट्दैन । यसलाई अझै सशक्त ढंगबाट लगिने छ’, प्रधानमन्त्री प्रचण्डले भने ।
सरकार देश र जनताको पक्षमा काम गर्न जुनसुकै बाधालाई परास्त गर्दै अगाडि बढ्ने उल्लेख गर्दै उनले भ्रष्टाचारविरुद्ध थालेको अभियान वीचमै रोकेर कसैसँग घुँडा नटेक्नेसमेत प्रष्ट पारे ।
सरकारले हरेक काम जनताको साथबाटै आँट गरेको बताउँदै अहिलेको अभियानमा पनि जनसमर्थन आवश्यक रहेको प्रधानमन्त्रीले उल्लेख गरे ।
