काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी २७ भदौमा काठमाडौंमा बृहत विरोधसभा गर्ने भएको छ । आइतबार पार्टी कार्यालयमा बसेको केन्द्रीय पदाधिकारीको बैठकले विरोधसभा गर्ने निर्णय गरेको हो ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको बैठकले गौवशं हत्याको विरोध गर्न विभिन्न संघसंस्थाबाट भइरहेका प्रदर्शन र विरोधमा ऐक्यबद्धता जनाउने निर्णय गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
त्यस्तै प्रवक्ता श्रेष्ठका अनुसार हिन्दुत्वको रक्षा एवं हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, विभिन्न भ्रष्टाचारमा संलग्न उच्च राजनैतिक नेतृत्वलाई छानविनको दायरामा ल्याउनलगायतको विषइ पनि समेटिएको छ ।
सुन तस्करी लगायतका भ्रष्टाचारका काण्डमा संलग्नको पूर्ण छानबिन गर्न, शिथिल अर्थतन्त्रले निम्त्याउन लागेको आर्थिक संकटमा सरकारको उदासिनताबारे पनि राप्रपाले विरोध गर्ने श्रेष्ठले बताए ।
बढ्दो बेरोज़गारी, मूल्यवृद्धि जस्ता विषयमा गम्भीर बन्नका लागि सरकारलाई दबाब सिर्जना गर्न राप्रपाले र्याली सहित विरोधसभा गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठको भनाइ छ ।
