काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन तस्करीमा धेरै खालका व्यक्तिहरु संलग्न रहेको बताएका छन् ।
शुक्रबार पोखरमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले क्वीन्टलका क्वीन्टल सुन तस्करी हुने गरेको कुरा थाहा पाएपछि सरकारले अनुसन्धान सुरु गरेको बताए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले भने, ‘त्यस तस्करीमा धेरै खालका मान्छेहरुको सेटिङ छ । सेटिङ नभइकन त्यसरी सुन तस्करी हुने कुरा असम्भव हो ।’
ठूलो मात्रामा सुन तस्करी हुने गरेको थाहा पाएपछि त्यसमाथि अंकुश नलगाइ देशका अर्थतन्त्र सन्तुलित ढंगले अगाडि बढाउन नसकिने निष्कर्षसहित सरकारले त्यसमाथि प्रहार गरेको उनले बताए ।
गत साउन ३ गते गैरकानुनी रुपमा नेपाल भित्रिएको ६० किलो सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । उक्त सुन आयातको विषयमा हाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ ।
