धादिङ घर भएका केशव अधिकारी ।
आजभन्दा झन्डै २ दशक पहिले जापान छिरेका हुन् ।
उनी नेपालमा टुरिष्ट गाइड र ट्राभल एजेन्सीका सञ्चालक थिए ।
सानै उमेरदेखि विदेशीहरुको संगतमा थिए उनी । जतिबेला नेपालमा पर्यटकहरुको बाक्लो भीड हुने गर्थ्यो ।
उनी बताउँछन्, ‘१८-१९ बर्षको उमेरमा जापानिज भाषा बुझ्ने भइसकेका थिएँ । सानैदेखि साहसी र मेहनती उनलाई माओवादी द्वन्द्वले जापानको यात्रा तय गराएको थियो ।’
जतिबेला धेरै व्यवसायीहरु देश छोडेर हिँड्ने परिस्थिति बनेको थियो । देशमा चन्दाआतंक र द्वन्द्वले ग्रस्तबेला उनी जापान हानिए । झन्डै १ दशक देश नफर्की जापानमा दुःख गरे । कहिल्यै बेन्तो, कहिले बेड मेकिङ, कहिले गेम्बा त कहिले रेष्टुरेन्ट ।
कुनै चाडपर्व नभनी बाबाममी आफन्त सबैसँग १० बर्षसम्म भेट्न नपाएको त्यो क्षण सम्झदै उनले भने, ‘केहि समयपछि जापानको हाचिओजि शहरमा पहिलोपटक जापानिज रेष्टुरेन्ट सञ्चालन गरेर आफ्नो व्यवसायीक यात्रा सुरु गरे । व्यवसाय बिस्तारै फस्टाउँदै गयो । सुरुमा पार्टनरबाट गरेको व्यवसाय पछि एक्लाएक्लै गर्ने सहमतिअनुसार अघि बढें ।’
१ वटाबाट ३ वटा जापानिज रेष्टुरेन्ट हुँदै उनले नेपाली समुदाय र नेपालीहरुसँग जोडिने हिसाबले विवाह पार्टी, जन्मदिन पार्टी, सभा समारोह विभिन्न सांस्कृतिक कार्यक्रम गर्न मिल्ने खालको फराकिलो ठाउँ लिएर टोकियोको कामतास्थित चौतारो रेष्टुरेन्ट सञ्चालनमा ल्याए ।
त्यसपछि उनी नेपाली समुदायमा पहिलेभन्दा धेरै घुलमिल र समय बिताउन थाले । अहिले उनको ३ वटा जापानिज र एउटा नेपाली रेष्टुरेन्ट सञ्चालन छन् भने ट्राभल एजेन्सि र रियल स्टेट साथै फुदोसानको काम गर्ने तयारीमा छन् ।
झन्डै २० जना जापानिज र ४० जना नेपाली गरि ६० जनाभन्दा बढीलाई उनले प्रत्यक्ष रोजगारी दिएका छन् । नेपालको धादिङ जिल्लामै १० रोपनी जग्गामा माछापालन, बंगुर, रांगा कुखुरा र खरायोको फार्म हाउसमा ३ जना कामदार राखेर जिम्मा दिएका छन् ।
उनी भन्छन्, म नेपालमा पनि केहि गर्न चाहन्छु । कृषि र पशुपालनमा हामीले टेवा दिनुपर्छ । विदेशी आयात रोक्नुपर्छ भन्ने उनको चाहना छ । त्यसैले उनी सहयोगी मनका धनी छन् ।
विगतमा विश्वभरि फैलिएको कोरोना माहामारिका बेला उनले मलेसियामा रहेका नेपालीको एउटा भिडियो हेरेपछि उनको मनले मानेन र ति नेपालीका उद्दारका लागि जापानको एनआरएनएमार्फत नगद रु ७ लाख सहयोग गरे ।
उनले पैसा जुटाउन सबैलाई सहयोग गर्न अपिल पनि गरे । हालै चितवनमा रहेको चेपाङ बस्तीका लागि १ लाख जापानिज ऐन समेत सहयोग गरे । हाल उनी रास्वपा पार्टीसँग आबद्द छन् ।
स्कुपखबरसँगको कुराकानीमा उनी भन्छन्, ‘अब नयाँ जोस र ऊर्जा बोकेका युवाहरुलाई साथ दिनुपर्छ ।’
विदेशी भूमिमा नेपालीहरुले व्यवसायीक रुपमा सफल हुनु र सयौं जनालाई रोजगारी दिनु देश र सिंगो नेपालीहरुका लागि गर्बको कुरा हो । उनको यो संघर्ष र सफलता सबै नेपालिका लागि प्रेरणा बनोस् ।
