काठमाडौ । इलाका प्रहरी कार्यालय पकडी, कपिलवस्तुका प्रहरी निरीक्षक (इन्स्पेक्टर) शिव क्षेत्रीलाई कारबाहीको माग गर्दै मायादेवी गाउँपालिकाका जनप्रतिनिधिहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
बिहीबार गाउँपालिका अध्यक्ष बलिउद्दीन मुसलमानसँगै ७ जना वडाध्यक्षले प्रमुख जिल्ला अधिकारी (सिडीओ) शंकरहरि आचार्यलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउने समूहमा लुम्बिनी प्रदेशसभा सदस्य मधुसुदनशरण चौधरी पनि सँगै थिए ।
जनप्रतिनिधिहरुले प्रशासन कार्यालयमार्फत गृहमन्त्रालय र लुम्बिनी प्रदेश सरकारलाई ज्ञापनपत्र पठाएको बताएका छन् ।
इन्स्पेक्टर क्षेत्रीका गतिविधि स्थानीयवासीलाई दुःख दिने नियत देखिएकाले खबरदारी गर्दै ज्ञापनपत्र बुझाइएको पालिका अध्यक्ष मुसलमानले बताए ।
गाउँपालिका र इप्रकाबीच विवाद बढेपछि सोमबारदेखि प्रहरीले ठाउँठाउँमा सबारी चेकिङका नाममा सर्वसाधारणलाई सास्ती दिइरहेको आरोप छ ।
गत सोमबार गाउँपालिकाको कार्यपालिका बैठकले इप्रका पकडी अन्तर्गतका प्रहरी चौकीको घरभाडा लगायतका अन्य सुविधा नदिने निर्णय गरेको थियो ।
यता इन्स्पेक्टर क्षेत्री भने कागजपत्र नभएका सवारीसाधनलाई कारबाही गरेको विषयलाई ठूलो बनाउन खोजिएको बताउँछन् ।
