काठमाडौं । प्रहरी महानिरीक्षक (आईजी) बसन्त बहादुर कुँवरले आफ्नो जिम्मेवारीमा खरो रूपमा प्रस्तुत भई उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरू थप सक्रिय हुनुपर्ने बताएका छन् ।
हालै सरूवा भई आफ्नो कार्यक्षेत्रमा कार्यालय प्रमुखको रूपमा खटि जान लागेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताएका हुन् ।
आईजी कुँवरले संगठनलाई सुधार गर्न, थप सुदृढ एवम् बलियो बनाउने तथा श्रीवृद्धि गर्नका लगि सबैको साथ सहयोग आवश्यक रहेको चर्चा गर्दै व्यावसायिक स्वार्थलाई आत्मसाथ गरी निष्ठावान, इमानदार एवम् सिर्जनशील भई कार्यसम्पादनको गुणस्तर राम्रो बनाउन आफ्नो अनुभवलाई प्रयोग गर्दै सकारात्मक सोचका साथ अगाडि बढ्न निर्देशन दिए ।
कानूनको कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी नेपाल प्रहरीको रहेको चर्चा गर्दै आईजी कुँवरले हरेक पल पलमा नागिरकको साथमा रहेर सहकार्य गर्नुपर्ने एवम् नागरिकको समस्यामा सहजीकरण गर्नेतर्फ प्रहरी अधिकृतहरू केन्द्रीत हुनुपर्ने बताए ।
आर्थिक अनियमिततामा शून्य सहनशीलतालाई आत्मसाथ गरी सिमान्तकृत एवम् पीडितवर्गहरूको सारथी भई उनीहरूको समस्या एवम् गुनासोलाई सम्बोधन गर्न समेत उनले बताए ।
आईजी कुँवरले संगठनको आन्तरिक सुदृढीकरण एवम् प्रहरी कर्मचारीहरूको मनोबल अभिवृद्धि गर्न सरूवाको मापदण्ड आएको चर्चा गर्दै यसलाई अक्षरस पालना गर्नुपर्ने सबैको दायित्व रहेको उल्लेख गरे ।
कानूनले दिएको अधिकारको पूर्ण प्रयोग तथा नेपाल प्रहरीको कार्ययोजना अनुरूप जनमैत्री सेवा प्रवाह, आन्तरिक सुदृढीकरण, राजश्व अभिवृद्धि, चोरीपैठारी लगायत अन्य अपराधिक गतिविधिमा थप क्रियाशील भई जिम्मेवारी वहन गर्नुपर्ने उनले बताए ।
भिड नियन्त्रणमा थप संवेदनशील भई बल प्रयोगको सिद्धान्तलाई अवलम्बन गरी कार्य गर्नेतर्फ उनले जोड दिए ।
यसअघि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी र कार्य विभागका प्रहरी नायव महानिरीक्षक विकास राज खनालले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई समसामयिक विषयमा निर्देशन दिएका थिए ।
