काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यका प्रहरी कार्यालय ‘मेट्रो’ प्रमुख परिवर्तनको तयारी गरेको छ । मेट्रोको कमाण्ड प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले सम्हाल्दै आएका छन् ।
काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) हेर्ने प्रहरी कार्यालय मेट्रो प्रमुख एआईजी ज्ञवालीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दबाबमा हटाउन लागिएको हो ।
पछिल्लो समय उपत्यका प्रहरी कार्यालयले विभिन्न प्रकरणमा कांग्रेस नेताहरुलाई धमाधम पक्राउ गर्न थालेपछि रुष्ट बनेका देउवाले गृहमन्त्रीलाई भेट्न बोलाएरै ज्ञवालीलाई हटाउन दबाब दिएका हुन् ।
त्यतिमात्र होइन एआईजी ज्ञवालीको कमाण्ड कमजोर र निष्पक्ष नरहेको समेत आरोप लागेको छ । सभापति देउवाले नै कमजोर कमाण्ड क्षमताका प्रहरीले निष्पक्ष काम गर्न नसक्ने भन्दै गृहमन्त्री श्रेष्ठलाई जसरी हटाउन भनेको स्रोत बताउँछ ।
गत शनिबार मात्रै सभापति देउवा र गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच धुम्बाराही निवासमा भेटवार्ता भएको थियो । सो क्रममा देउवाले मन्त्री श्रेष्ठलाई मेट्रो प्रमुख परिवर्तन गर्न सुझाव दिएका थिए ।
मेटो प्रमुख परिवर्तन हुने भएपछि ज्ञवालीको ठाउँमा जान एआईजीहरुको रस्साकस्सी चलेको छ । तर, विश्वस्त स्रोतका अनुसार ज्ञवालीको ठाउँमा एआईजी दिपक थापालाई पठाउने तयारी भएको छ । थापालाई देउवाले समेत रुचाएका छन् ।
भावी प्रहरी महानिरीक्षक (आईजी) को रुपमा देखिएका थापा संगठनमा इमान्दार र निष्पक्ष प्रहरी अधिकृत हुन् । हाल एआईजी थापाले प्रशासन विभागको नेतृत्व सम्हालिरहेका छन् ।
त्यस्तै गृह मन्त्रालयले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख समेत परिवर्तनको तयारी गरिरहेको स्रोत बताउँछ । हाल कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) डा. मनोज कुमार केसी छन् ।
एसएसपी केसी बसेको कार्यालय ‘करियर प्लानिङ’का हिसाबले महत्वपुर्ण युनिट मानिन्छ । त्यसैले उक्त कार्यालय जान पनि थुप्रै एसएसपीहरुले लबिगं गरेका छन् । तर, उक्त ठाउँमा गृहमन्त्री श्रेष्ठले सक्षम र इमान्दार अधिकृतलाई पठाउन खोजिरहेका छन् ।
उता, काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीको भने तत्काल सरुवा नहुने भएको छ । एसएसपी कार्कीले काठमाडौं प्रहरीको नेतृत्व सम्हालेसँगै राम्रा राम्रा कामहरु भइरहेको भन्दै गृहमन्त्री श्रेष्ठले नै उनलाई परिवर्तन गर्न नखोजेका हुन् ।
