काठमाडौं । कोसी ब्यारेजका सबै ढोका एकैपटक खोलिएको छ । बाढीले खतराको तह पार गरेपछि ब्यारेजका सबै ५६ वटै ढोका एकैपटक खोलिएको हो ।
पानी प्रतिसकेन्ड ४ लाख ६२ हजार ३ सय ४५ क्युेसेक भन्दा बढी पुगेसँगै ब्यारेजको ढोका खोलिएको बताइएको छ । अविरल वर्षाको कारण आइतबार राति पानीको सतह बढेको थियो ।
कोसी ब्यारेजका सबै ढोका खोल्नुपरेको यो तेस्रोपटक हो भने पानीको बहाव ३४ वर्षपछि यति धेरै भएको हो ।
सप्तरी र सुनसरी जिल्लाको बीचमा सप्तकोसी नदीमाथि निर्मित १ हजार १ सय ७५ मिटर लामो पुललाई कोसी ब्यारेजको नामले चिनिन्छ । जसले पूर्वपश्चिम राजमार्गलाई जोडेको छ ।
कोसी ब्यारेजमा अहिले आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ । पानीको सतह अझै बढ्न सक्ने हुँदा सचेत रहन जिल्ला प्रशासन कार्यालय सुनसरीले आग्रह गरेको छ ।
