काठमाडौं । मुस्ताङको वारागुङमुक्तिक्षेत्र गाउँपालिकाको मुक्तिनाथबाट झर्ने कागखोलामा आएको बाढीले कागबेनी प्रहरीचौकीसहित १५ घर बगाएको छ ।
बाढी कागबेनी बस्तीमा छिरेपछि १५ वटा घर, होटल, प्रहरी चौकी, पक्की पुल, झोलुङ्गे पुल, २ वटा गाडी र तीन वटा विद्ययुतीय पोल बगाएको प्रहरीले जनाएको छ । आइतबार राति आएको बाढीले उक्त भौतिक संरचनामा क्षति पुर्याएको हो ।
मानविय क्षति भने नभएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) अनुप केसीले जानकारी दिए । सिडिओ केसीले भने, ‘बाढी बस्तीमा पस्न थालेपछि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका टोलीको सहयोगमा स्थानीयलाई समयमै सुरक्षित स्थानमा सारियो । त्यसकारण मानवीय क्षति हुन पाएन ।’
प्रजिअ केसीका अनुसार कागबेनी र छुसाङ जोड्ने पक्की पुल बगाएपछि कागबेनीसँग अपर मुस्ताङको सडक सम्पर्क टुटेको छ ।
