काठमाडौं । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ मा भारतीय नागरिकको शव फेला परेको छ । भारत उत्तर प्रदेश घर भएका २४ वर्षीय साजिक खानको शव डुबिरहेको अवस्थामा फेला परेको हो ।
आइतबार दिउँसो साढे १२ बजेतिर फेला परेको खानको शवको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने प्रहरीले बताएको छ । खानको निधार, मुखलगायत शरीरका विभिन्न भागमा चोट लागेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले बताए ।
डीएसपी भण्डारीका अनुसार खानले भाँडावर्तन बनाउने उद्योगमा काम गर्थे । घटना शंकास्पद देखिएकाले अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । खानको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
यदि हत्या भएको भए किन र कसले गर्यो भनेर अनुसन्धानपछि मात्रै खुल्ने उनले बताए ।
