काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टी पुनः सरकारमा सहभागी हुने भएको छ । सरकारबाट बाहिरिएको चार महिनापछि पुनः सरकारमा सहभागि हुन लागेको हो ।
कृषि मन्त्रालय र उद्योग मन्त्रालयमध्ये कुनै एक रोजेर गत पुसमा पुष्पकमल दाहाल प्रचण्ड सरकारमा सहभागी भएर चैतमा सरकार छाडेको जनमत फेरि सरकारमा सामेल हुन लागेको हो ।
जनमत सरकारमा सामेल हुने भएसँगै पूर्ण रहेको प्रचण्ड सरकार फेरि पुनर्गठन हुने भएको छ । २५ सदस्यीय रहेको मन्त्रिपरिषद्मा कसैलाई हटाएर जनमतकी सांसद अनिता देवी साहलाई मन्त्री नियुक्त गर्न लागिएको छ ।
स्रोतका अनुसार साहलाई आइतबार मन्त्री बनाइँदैछ । उद्योग र कृषि नपाएपछि सरकार छाडेको जनमतलाई कुन मन्त्रालय दिइने अहिले नै तय भने भइनसकेको भए पनि जनमत पार्टी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा चित्त बुझाएको स्रोत बताउँछ ।
मन्त्रिपरिषद् पुनर्गठनका क्रममा उद्योग र कृषिमध्ये एक नदिइएपछि जनमतका तर्फबाट खानेपानी मन्त्री रहेका अब्दुल खानले गत चैत १७ गते राजीनामा दिएका थिए।
