काठमाडौं । गत ५ साउन राती १० बजे मधेश प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) चन्द्रेश्वर यादव जलेश्वर नगरपालिका–२ बसपार्क नजिक विद्यापति नगरमा घाइते अवस्थामा भेटिए ।
यादवको दायाँ खुट्टा फ्याक्चर भएको थियो । घाइते अवस्थामा भेटिएपछि उनलाई तत्काल उद्दार गरेर अस्पताल लगियो । हाल डिएसपी यादवको काठमाडौंस्थित प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।
नेपाल प्रहरी चेन अफ कमाण्डमा चल्ने संगठन हो । त्यसैेले आफ्नै डिएसपी नहरमा घाइते अवस्थामा फेला परेपछि अनुसन्धानको लागि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले छानबिन समिति नै गठन गर्यो । प्रहरी उपरीक्षक (एसपी) महेन्द्र श्रेष्ठको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो ।
एसपी श्रेष्ठको नेतृत्वमा गठित छानबिन समितिको अनुसन्धानमा डिएसपी यादव महिला काण्डमा मुछिएपछि कुटपिट भएको खुलेको छ । घटनाको राति यादव महोत्तरीको जलेश्वरस्थित एक महिलाको घरमा पुगेका थिए ।
ती महिलासँग उनको पुरानो सम्बन्ध थियो । महिलाका श्रीमान विदेशमा बस्ने भएकाले उनी बारम्बार त्यहाँ जाने गरेको खुल्यो । हालै श्रीमान नेपाल आएका थिए । घरमा डिएसपी यादवलाई श्रीमतीसँग भेटेपछि ती व्यक्तिले कुटेका हुन् ।
हारगुहार गरेर उनले ज्यान जोगाए पनि कुटपिटबाट उनको हड्डी नै टुटेको छ । हाल काठमाडौंस्थित प्रहरी अस्पतालमा उनी उपचार गराउँदै आएका छन् ।
६ महिना जागिर बाँकी रहेका डिएसपी यादवलाई विभागीज कारबाहीले त असर नगर्ला तर यो घटनाले उनको मात्र होइन सिंगो प्रहरी संगठनकै छवि धुमिल भएको छ ।
चेन अफ कमाण्डमा चल्ने प्रहरी संगठनका कतिपय कर्मचारी पनि पटक–पटक महिला काण्डमा फस्दै आएका छन् । यसअघि बहालवाला एसएसपीको महलिा काण्ड बाहिर आएपछि निलम्बन गरिएको थियो ।
