काठमाडौं । प्रहरी महानिरीक्षक (आईजी) बसन्त बहादुर कुँवरले प्रविधिको विकाससँगै अपराधलगायतका विभिन्न गतिविधिहरूमा परिवर्तन आएकोले प्रत्येक प्रहरी कर्मचारीहरूले आफ्नो व्यवहार र कार्यशैलीलाई समय अनुसार परिवर्तन गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यसम्पादन सम्झौता हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताएका हुन् ।
कार्यक्रममा आईजी कुँवर र नेपाल प्रहरी अस्पतालका मेडिकल डाईरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. आशा सिंह, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एआईजी टेक प्रसाद राई, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी श्यामलाल ज्ञवालीबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ ।
त्यस्तै केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख एआईजी किरण बज्राचार्य तथा नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गत प्रशासन विभागका प्रमुख एआईजी दिपक थापा, अपराध अनुसन्धान विभागका प्रमुख एआईजी टेक बहादुर तामाङ, मानवस्रोत विकास विभागका प्रमुख एआईजी सन्दिप भण्डारीबीच पनि कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ ।
त्यसैगरी कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरी, प्रदेश समन्यव विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी र ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको प्रधान कार्यालयले जनाएको छ ।
कार्यक्रममा आईजी कुँवरले कार्य सम्पादन सम्झौतामा सिर्जनशील तथा प्रवर्धनात्मक कार्यक्रमहरू समावेश गरिएको हुँदा सम्पूर्ण प्रहरी कार्यालयहरूले आफ्नो कार्यशैलीमा सिर्जनशिलता देखाउँदै कार्यसम्पदान सम्झौताको उद्देश्य प्राप्तिका लागि दत्तचित भएर काम गर्नुपर्ने बताए ।
नेपाल सरकारले रूपान्तरणको नीतिलाई आत्मसात् गर्दै अगाडि बढेको अवस्थामा यो अवसरलाई सदुपयोग गर्दै प्रत्येक प्रहरी कर्मचारीहरुले सकारात्मक भई प्रहरी कार्यमा सुशासन कायम गर्ने, आन्तरिक शुद्धिकरण गर्ने, नागरिकमैत्री बन्ने र पूर्णव्यावसायिक बन्दै निष्ठामा रहेर प्रहरीको छवि सुधार्ने काम गर्न उनले निर्देशन दिए ।
कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) बिष्णु कुमार केसीले स्वागत मन्तव्य व्यक्त गर्दै दुई आर्थिक वर्षको लागि तयार पारिएको नेपाल प्रहरी कार्ययोजना-२०८० स्वीकृत भएपश्चात वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रम तय गरिएको जानकारी दिए ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति एवम् जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो ।
