काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले २०७४ सालमा पाएको मतको सदुपयोग गर्न सकेको भए २०७९ को निर्वाचनमा कम्युनिस्ट पार्टीहरुले दुई तिहाई भन्दा बढी सिट जित्ने बताए ।
आइतबार नेकपा (एकीकृत समाजवादी) मनाङ–काठमाडौं सम्पर्क मञ्चको ५औँ सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष नेपालले ०७४ सालको निर्वाचनमा कम्युनिस्ट पार्टीले करिब दुई तिहाइ मत ल्याएको भएपनि त्यसको सदुपयोग गर्न नसकेको बताएका हुन् ।
उनले त्यसबेला सरकार र पार्टी राम्ररी चलाएको भए ०७९ को निर्वाचनमा दुई तिहाइभन्दा बढी सिट जित्ने दाबी गरे । उनले नेपालमा कम्युनिस्ट पार्टीहरु सबैतिर फैलिएको पनि बताए ।
‘आज नेपालको राजनीतिमा कम्युनिष्ट पार्टी सबैतिर फैलिएको पाइन्छ । २०७४ सालको चुनावमा कम्युनिस्ट पार्टीले झन्डै दुई तिहाई बहुमत प्राप्त गरेको थियो । त्यसको राम्ररी सदुपयोग गर्न सकेको भए, सरकार राम्ररी चलाएको भए, पार्टी राम्ररी चलाएको भए २०७९ सालको चुनावमा त्योभन्दा बढी सिट हामी पाउने थियौं,’ उनले भने ।
‘त्योभन्दा बढी मत हामीले प्राप्त गर्ने थियौँ । अहिले संसारमा पनि कम्युनिस्टहरू फैलिइरहेका छन् । वामपन्थी राष्ट्रपतिहरु चुनावमा जितिरहेका छन् । ल्याटिन अमेरिकाका झन्डै दशवटा देशहरुमा वामपन्थी राष्ट्रपतिमा निर्वाचित भएका छन् ।’
कम्युनिस्ट पार्टीहरू विश्वभर फैलिइरहेका भन्दै उनले ल्याटिन अमेरिकी देशहरु, युरोप र अफ्रिकाका कतिपय देशहरुमा वामपन्थी पार्टीका नेताहरु राष्ट्रपति निर्वाचित भइरहेका बताए । समाजवादको नारा नेपालमा मात्रै नभई संसारका अरु देशमा पनि गुन्जिरहेको उनको भनाइ छ ।
