काठमाडौं । त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट बरामद करिब सय किलो सुन तस्करी प्रकरणमा नेपालले अनुसन्धानमा सहयोग गर्न हङकङलाई आग्रह गरेको छ ।
भन्सार विभागले हङकङको भन्सारलाई पत्र लेख्दै सुन पठाउने व्यक्तिहरुबारे जानकारी माग गरेको हो । ‘हामीले हङकङको भन्सार विभागसँग सुन बरामदको घटनापछि ती व्यक्तिहरुले निर्यात गरेका छन् कि छैनन् भनेर जानकारी मागेका छौँ,’ विभागका प्रवक्ता पुण्यविक्रम खड्काले भने ।
गत २ साउनमा मोटरसाइलको ब्रेक सुमा राखेर ल्याइएको सय किलो सुन बरामद भएपछि तस्करीको खुलासा भएको थियो । तस्करीमा भन्सार विभागका कर्मचारी पनि संलग्न रहेको पाइएको छ ।
नेपालमा वाणिज्य बैंकहरुले बाहेक अरुले सुन भित्र्याउन पाउँदैनन् । यो व्यवस्थाको पालना किन नगरिएको हो भन्ने विषयमा आफूहरुको चासो रहेको खड्काले बताए ।
तस्करीमा संलग्न भएको आशंकामा हालसम्म १८ जना पक्राउ परिसकेका छन् । रेडी ट्रेड कम्पनीको नाममा सुन आएको थियो ।
