काठमाडौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीमा सरकार आफूलाई जोगाउने र अरुलाई फसाउने खेलमा लागेको आरोप लगाएका छन् ।
उनले मुख्य दोषीसम्म पुग्नुको साटो भरियाहरुलाई मात्र समाउनुले त्यहि पुष्टि भएको बताए ।
नेपालगञ्जमा शनिबार शुरु भएको एमालेका लुम्बिनी प्रदेशका जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले सरकारको जानकारीबिना विनास्थलबाट एक क्विन्टल सुन भित्रन सम्भव नै नहुने बताए ।
‘एउटा सुइसमेत छिर्न नसक्ने एयरपोर्टबाट एक क्विन्टल सुन भित्रिन कसरी सम्भव हुन सक्छ ?’ उनले प्रश्न गरे । ओलीले सुन प्रकरणमा सरकारका मुख्य मान्छे नै संलग्न रहेको आरोप लगाए ।
‘सरकारको विशेष जिम्मेवारीमा रहेका व्यक्तिको योजनाबिना यति ठूलो परिणाममा सुन भित्रन सक्दैन’, उनले भने, ‘यो सेटिङबिना सम्भव छैन ।’ तर उनले ती मुख्य मान्छे भनेको को हो भन्ने स्पष्ट पारेनन् ।
