काठमाडौं । काठमाडौं महानगरपालिकाले धुम्बाराहीस्थित राप्रपाको पार्टी कार्यालय हटाउन अल्टिमेटम दिएको छ । महानगरपालिकाले शुक्रबार माइकिङ गर्दै कार्यालय हटाउन अल्टिमेटम दिएको हो ।
मेयर बालेन्द्र शाह बालेनको निर्देशन बमोजिम शुक्रबार महानगर प्रहरीको टोली राप्रपाको कार्यालयमा माइकिङ गर्न पुगेको थियो । सो क्रममा सोमबारभित्र पार्टी कार्यालय हटाउन भन्दै महानगर प्रहरीको टोलीले माइकिङ गरेको थियो ।
‘यस राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहनु भएका पदाधिकारीज्यूहरु, यो कार्यालयलाई आगामी सोमबारभित्र हटाइ खाली गराइदिनुहुन काठमाडौँ महानगरपालिका हार्दिक अनुरोध गर्दछ’, महानगरको टोलीले माइकिङमा भनेको थियो ।
हाइटेन्सन लाइनमुनि भवन बनाएको भन्दै महानगरपालिकाले हटाउन लागेको हो । तर राप्रपाले नगरप्रहरीको टोलीलाई लिखितरुपमा यसबारे आफूहरुलाई दिन आग्रह गरेको छ । यसैबीच भवन भत्काउन महानगरले माइकिङ गरेसँगै राप्रपा आन्तरिक छलफलमा जुटेको छ ।
