मोरङ । प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता शेखर कोइरालाले नेपालमा भइरहेको सुन तस्करीको विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएका छन् ।
विराटनगरमा शुक्रबार पत्रकारसँगको कुराकानीमा कोइरालाले सुन तस्करीले नेपालको अर्थतन्त्रमा असर गरिरहेको छ, छैन भन्ने गम्भीर विषय भएको बताएका हुन् ।
‘कसको सेटिङमा सुन आइरहेको भन्न गाह्रो विषय हो,’ उनले भने, ‘अहिले सय किलो सुन बरामद भएकोले हामीले थाहा पायौं तर त्यो भन्दा अगाडि कति आयो त्यो गम्भीर विषय हो र यसले नेपालको अर्थतन्त्रमा असर गर्छ कि गर्दैन ?’
भारतमा १३ सय मेट्रिकटन सुन वार्षिक खपत हुन्छ तर आयात ८ सयदेखि ९ सय मेट्रिकटनमात्रै भारत सरकारले गरिरहेको हुँदा ४ सयदेखि ५ सय मेट्रिकटन अवैध तरिकाले आपूर्ति भइरहेकै देखिएको कोइरालाले बताए ।
‘सुन आउने रुट चीन, हङकङ र खाडी मुलुकबाट नेपाल आउने र नेपालबाट भारत जाने हो,’ उनले भने, ‘यसमा को संलग्न छ भन्ने सरकारले अनुसन्धान गर्ला तर नेपालीहरु बिचौलियामात्रै हुन् ।’
अवैध व्यापार गर्ने चाइनीज र भारतीय व्यापारी तर नेपाली बिचौलियामात्रै भएको कोइरालाको भनाइ थियो ।
‘बिचौलियाले कति नै पाउँदो होला ? किलोमा २ लाख बिचौलियाले पाउने गरेको सुनेको तर अवैध व्यापार गर्नेहरुले कति कमाइरहेका होलान् ,’ उनले भने ।
