काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सार्थक व्यक्तित्व निर्माणका लागि शिक्षा अपरिहार्य भएको बताएका छन् ।
बिहीबार महोत्तरीको बर्दिवास–३ गौरीडाँडास्थित जनता माध्यमिक विद्यालयले आयोजना गरेको तीनदिने शिक्षा सम्मेलनको उद्घाटन गर्दै उनले शिक्षाले जीविकोपार्जन मात्र नभएर मुख्यतः मानिस हुनुमा जीवनको महत्त्वबारे सुशिक्षित गराउन पर्ने आवश्यकता औँल्याएका हुन् ।
पछिल्लो कालमा प्राविधिक धारको व्यावसायिक शिक्षामा जोड दिइँदै आएको ठीक भए पनि हाम्रो शिक्षाले विवेक, मानवीय मूल्य मान्यता र मान्छे हुनुको दायित्व बोध गराउनैपर्ने गृहमन्त्री श्रेष्ठको भनाइ छ ।
जीविकोपार्जनमा मात्र जोड दिइयो र प्राविधिक शिक्षा पाएकाहरूले पैसाका लागि मात्र काम गर्न थाले भने मुलुकले चाहेको सुशासन फलित हुन नसक्ने उनको भनाइ थियो ।
‘हाम्रो आवश्यकता मुलुकको समृद्धि हो, यसका लागि विकास र सुशासन अपरिहार्य छन्’ उनले भने, ‘यी कुरा अघि बढाउन इमानको मान्छे चाहिन्छ, हाम्रो शिक्षाले त्यो इमान दिनप¥यो ।’
फरक प्रसङ्गमा उपप्रधानमन्त्री श्रेष्ठले मुलकका जनतालाई सुशासनको अनुभूति दिन भ्रष्टाचार विरुद्धको अभियानलाई अझ सशक्त ढंगले अघि बढाइने प्रतिबद्धता जनाए ।
