काठमाडौं । विश्वको सर्वोच्च हिमाल सगरमाथा आरोहण गर्ने उद्देश्यले डेढ वर्षअघि नर्वेजियन नागरिक क्रिस्टिन हरिला नेपाल आइन् । नेपाल भ्रमणको क्रममा उनको नेपाली पर्वतारोही तेन्जिङ शेर्पा (लामा)सँग भेट भयो ।
त्यसपछि उनै शेर्पाले नर्वेजियन नागरिक अर्थात आरोही क्रिस्टिन हरिलाले गाइडको रुपमा काम गर्ने अवसर पाए । गाइड गर्दै जाँदा क्रिस्टिन हरिलाले शेर्पालाई पनि आफुसँगै हिमाल आरोहण गराउने सोच बनाइन् । सँगै हिमाल आरोहण गर्ने थाले ।
सकारात्मक सोचकी धनी नर्वेजियन नागरिक क्रिस्टिन हरिलाले शेर्पालाई जहाँको हिमाल आरोहण गर्दा पनि छुटाइनन्, सँगै लिएर गइन् । आज उनै आरोही जोडीको जताततै चर्चा छ । उनीहरुले आज विश्व कीर्तिमान कायम गरेका छन् ।
काठमाडौंस्थित सेभन समिट ट्रेक्सबाट उनीहरुले बिहीबार बिहान पाकिस्तानी समयअनुसार बिहान १०ः४५ बजेको समयमा पाकिस्तानमा रहेको (८,६११ मिटर) विश्वकै दोस्रो अग्लो हिमाल केटू आरोहण गरेपछि उनीहरुको चर्चा भएको हो ।
केटू हिमाल आरोहणसँगै ९२ औं दिनमा उनीहरुले विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गर्न सफल भएका छन् । विश्वको सर्वोच्च हिमाल सगरमाथासहित १४ वटा हिमाल आरोहण गर्दै नेपाली पर्वतारोही शेर्पा र नर्वेजियन पर्वतारोही हरिलाले कीर्तिमान कायम गरेका हुन् ।
संसारको १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमाल सबैभन्दा छिटो आरोहण गरेर उनीहरुले रेकर्ड बनाएका सेभन समिट ट्रेक्सका सञ्चालक एवं सफल पर्यटन व्यवसायी टासी लाक्पा शेर्पाले बताए ।
विश्वकै १४ वटा अग्लो हिमाल सिसापाङमा वैशाख १३ गते आरोहण गर्दै यी दुईले आरोहण यात्राको थालनी गरेका थिए । विश्वका १४ अग्ला हिमाल आरोहण गर्ने करिब ४ दर्जन आरोहीमध्ये थोरै संख्यामा मात्रै महिला छन् । जसमध्ये ३७ वर्षीया क्रिस्टिन पनि एक हुन् ।
यसअघि निर्मल पुर्जाले विश्वकै १४ अग्ला हिमाल ६ महिना ६ दिनमा आरोहण गर्दै ‘सबैभन्दा छिटो आरोहणको कीर्तिमान’ बनाएका थिए । उनको कीर्तिमानलाई उनीहरुले ९२ औं दिनमा तोडेर नयाँ कीर्तिमान कायम गर्न सफल भएका हुन् ।
‘निर्मल पुर्जाको रेकर्ड संखुभासभाका तेन्जिङ र नर्वेकी आरोही क्रिस्टिनले तोडेका छन्, सेभेन समिटका सञ्चालक टासीले भने, ‘नेपाली मूलका निर्मल पुर्जाले नागरिकता त्यागिसकेकाले विश्वकै १४ वटा हिमाल सबैभन्दा चाँडो आरोहण गर्ने तेन्जिङ अब एक मात्र नेपाली भएका छन् ।’
व्यवसायी टासीका अनुसार एउटा हिमाल आरोहण गर्न करिब २० देखि ३० लाख रुपैयाँ लाग्नेछ । १४ वटै हिमाल आरोहण गर्दा नर्वेजियन आरोही क्रिस्टिनले नै तेन्जिङलाई सहयोग गरेकी हुन् । यसरी क्रिस्टिनले आफू जता जाँदा पनि तेन्जिङलाई नछुटाई सँगसँगै लिएर आरोहणमा नयाँ कीर्तिमान बनाएका छन् ।