काठमाडौं । संखुवासभाका निमा रिन्जी शेर्पाले १७ वर्ष ९९ दिनको उमेरमा विश्वको दोस्रो अग्लो केटु हिमाल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन् ।
बिहीबार बिहान २७ जुलाई २०२३ पाकिस्तानी समयअनुसार बिहान १०ः४५ बजेको समयमा शेर्पाले ८,६११ (आठ हजार ६ सय एघार) मिटर अग्लो हिमाल आरोहण गरेका हुन् ।
उनले आफ्ना आरोही साथी पासाङ नुर्बु शेर्पा र क्रिस्टिन हरिला, तेन्जिङ शेर्पा (लामा)लगायत केही आरोहीसँग विश्वको दोस्रो अग्लो हिमाल केटु हिमालको आरोहण गरेको उनका बुबा टासी लाक्पा शेर्पाले जानकारी दिए ।
यसअघि आरोही शेर्पाले २०२२ अगस्ट ३० मा मनास्लु, २०२३ मे २४ मा एभरेष्ट, २०२३ मे २५ मा ल्होत्से, २०२३ जुन २६ मा नांगा पर्वत, २०२३ जुलाई १८ मा गशरब्रम द्धितिया, २०२३ जुलाई १९ मा गशरब्रम प्रथम, २०२३ जुलाई २३ मा ब्रोड पिक हिमालको आरोहण गरिसकेका छन् ।
निमा रिन्जीको बुबा टासी शेर्पा सफल पर्यटन व्यवसायी हुन् । उहाँ आफैं कीर्तिमानी आरोही पनि हुन् । सेभेन समिट ट्रेक्सको भगिनी कम्पनी, १४ पिक्स एक्सपिडिसनको सञ्चालक रहेका टासीले सानै उमेरदेखि निमालाई व्यवसायिक आरोहण सम्बन्धि तालिम दिएका थिए ।
निमा रिन्जीलाई आफ्ना बुबा टासीले एक कुशल पर्वतारोही बनेको हेर्न चाहेको बताउँदै विश्वका ८ हजार माथिको १४ वटा हिमाल आरोहणको योजना समेत रहेको सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।
