बारा । बारा प्रहरीले मोटरसाइकल चोर गिरोहका सात जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । प्रहरीले उनीहरूको साथबाट चोरीका १२ वटा मोटरसाइकल पनि बरामद गरेको छ ।
पक्राउ पर्नेहरुमा बारा जितपुर सिमरा उपमहानगरपालिका, १६ बस्ने १९ वर्षीय विर्धोज वाइवा, सोही स्थानका १९ वर्षीय सुदर्शन बम्जोन, रौतहट चन्द्रनिगापुर नगरपालिका, २ बस्ने२६ वर्षीय पंचालाल बलोन रहेका छन् ।
त्यस्तै प्रहरीका अनुसार बारा कलैया उपमहानगरपालिका, २० बस्ने २० वर्षीय दिपेन्द्र कुमार महतो, सोही स्थानका १९ वर्षीय राधेश्याम महतो, २१ वर्षीय सतेन्द्र कुमार गुप्ता र महागढीमाई नगरपालिका, ९ बस्ने २० वर्षीय राजिनन्द महतो पक्राउ परेका हुन् ।
चोरीको मोटरसाइकलसहित पक्राउ परेकाहरू सात जनालाई बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीले जानकारी दिए ।
‘विभिन्न मितिमा जिललाको विभिन्न स्थानहरुबाट चोरी गरेको १२ वटा मोटरसाइकलसहित मोटरसाइकल चोरी गर्ने गिरोह (माथिका व्यक्ति)हरुलाई पक्राउ गर्न सफल भएका हौं,’ एसपी बोगटीले भने, ‘उनीहरुविरुद्ध चोरी तथा डाँका सम्बन्धी मुद्दामा अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।’
बा२६प ७७५३ नम्बरको डिसकभर, ज११प ८४९५ नम्बरको ग्ल्याम्बर, ना५१प २७९० नम्बरको सुपर स्पेलण्डर, ना५२प ७१३२ नम्बरको आर१५, वन टेस्ट लेखेको ग्ल्याम्बर, वन टेस्ट लेखेको २२० पल्सर, बीआर०५एफ ०६०३ नम्बरको सुपर स्पेलण्डर बरामद भएको बाराका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्स्पेक्टर) जयकृष्ण प्रसाद कुर्मीले बताए ।
इन्स्पेक्टर कुर्मीका अनुसार त्यस्तै बीआर ०५ ए ९०६२ नम्बरको स्पेलण्डर, ना ४१ प ८४६८ नम्बरको एफजेटएस, बा ९० प ५००८ नम्बरको एनएस पल्सर, मधेस प्रदेश ०३ ०२६ प ९९५६ नम्बरको एनएस पल्सर र बा ६४ प ४६८४ नम्बरको २२० सीसीको पल्सर बरामद भएको छ ।
