काठमाडौं । राजश्व अनुसन्धान विभागले लाजिम्पाटमा चिनियाँ नागरिक बस्दै आएको एक घरमा शिल गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ साउनमा पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवानको लाजिम्पाटस्थित घरमा विभागले खानतलासी गरेर शिल गरेको हो ।
खानतलासीको क्रममा विभागले केही बाकसहरु बरामद गरेको छ । विभागका एक अधिकारीका अनुसार, त्यहाँ चुवानसहित अन्य चिनियाँ नागरिकहरुको पनि आउजाउ हुने गरेको देखिएको छ ।
अन्य चिनियाँबारे विभागको टोलीले अनुसन्धान गरिरहेको छ । विभागले सशस्त्र प्रहरीको सहयोगमा यसअघि बालुवाटार र सोह्रखुट्टेमा पनि छापा मारेको थियो ।
राजश्व अनुसन्धान विभागको टोलीले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको एक क्वीन्टल सुन बरामद गरेको थियो ।
त्यसमा संलग्न रहेको आरोपमा हालसम्म १७ जना पक्राउ परेका छन् ।
