काठमाडौं । इलाका प्रहरी कार्यालय भिमगिठे, बागलुङमा कार्यरत प्रहरी प्रमुख उज्जल पौडेलको हत्या भएको खुलेको छ । गत सोमबार राति मृत भेटिएको भनिएका पौडेलको हत्या भएको खुलेको हो ।
प्रहरी वरिष्ठ नायब निरीक्षक (सई) पौडल मृत भेटिएकै होटल सञ्चालकले उनको हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी नायब उपरीक्षक (डिएसपी) तथा सूचना अधिकारी मदन केसीले जानकारी दिए ।
प्रहरीले पौडेलको टाउकोमा प्रहार गरि मरणसन्न बनाएर कपडाले घाँटी थिचेर हत्या गरेको जनाएको छ । होटलमा खाजा खान पसेका पौडेल र होटल सञ्चालक आशा कुँवरका आमा छोराबीच विवाद हुँदा टाउकोमा प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

टाउकोमा चोट लागेर बेहोस भएका पौडेल भुँईमा ढलेपछि पर्दाको कपडाले घाँटीमा कसी हत्या गरेको र मृतकले घाँटीमा लगाएको सुनको सिक्री समेत निकाली भान्छा कोठामा लुकाइराखेको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक (एसपी) योगेन्द्र कुमार खड्काले बताए ।
पौडेल हत्या आरोपमा होटल सञ्चालक ५१ वर्षीया आशा कुँवर र उनका छोरा २० वर्षीय विनोद कुँवरलाई पक्राउ गरिएको एसपी खड्काले बताए । पौडेलको हत्या अभियोगमा दुई जनालाई पक्राउ गरेका छौं, एसपी खड्काले भने, ‘पौडेलले लगाएको सुनको सिक्री होटलको भान्छा कोठामा फेला परेको छ ।’
पौडेलले होटलमा आत्महत्या गरेको भनेर होटल सञ्चालक कुँवरले नै वडाध्यक्षलाई फोन गरेर जानकारी दिएको खुलेको छ । वडाध्यक्षले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यलय बुर्तिवाङको टोली तुरुन्त घटनास्थलमा पुगेको थियो ।

बागलुङको बडिगाड गाउँपालिकास्थित भीमगिठेका इञ्चार्ज पौडेल मृत फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो । एसपी खड्काले भने, ‘सोही इलाकाको अन्य प्रहरी टोली घटनास्थल सुरुमा गएपछि म पनि घटनास्थलतिर गएको हुँ । अदालतबाट म्याद थप समेत भइसकेको अवस्था छ ।’
मृत फेला परेको खवर सार्वजनिक भएपछि प्रहरीले मंगलबार साँझ उनको शव पोष्टमार्टमको लागि धौलागिरी अस्पताल बागलुङ लगेपनि प्रहरी प्रधान कार्यालयले निर्देशनपछि पोखरा पठाइएको थियो ।
मृतक पौडेलको पोष्टमार्टम गण्डकी अस्पताल पोखरामा भएको छ । घटनास्थल जिल्ला सदरमुकाम बागलुङ बजारबाट झण्डै ७५ किलोमिटरको दुरीमा छ भने इलाका प्रहरी कार्यलय भिमगिठेबाट ४ किलोमिटरको दुरीमा रहेको छ ।
