काठमाडौं । एक साताको कम्बोडिया यात्रापछि मंगलबार स्वदेश फर्किएका प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलबाटै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निसाना साँधे ।
सुन तस्करी प्रकरणलाई लिएर श्रेष्ठमाथि ओली आक्रामकरूपमा प्रस्तुत हुनुलाई अर्थपूर्णरूपमा हेरिएको छ ।
ओली कम्बोडिया उड्नुभन्दा अघिल्लो दिन गत साताको बुधबार साँझ राजस्व अनुसन्धान विभागले विमानस्थलबाट एक क्विन्टलभन्दा बढी तस्करीको सुन बरामद गरेको थियो ।
भारतबाट ल्याइएका मोटरसाइकल चढ्ने देशमा हङकङबाट ल्याएको मोटरसाइकल र स्कुटरको ‘ब्रेक सु’ को प्रयोजनबारे यसअघि कहिल्यै चर्चा भएन ।
उक्त ब्रेक सुसहितको सुनको तौल १ सय ५५ केजी रहेको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ ।
बलियो सुरक्षा घेरा रहेको अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भएर बाहिर आएको अवस्थामा सुन बरामद भएपछि सिंगो मुलुकको ध्यान त्यतातर्फ तानिएको छ ।
जसको अहिले राजस्व अनुसन्धान विभागले नै अनुसन्धान तथा तहकिकात गरिरहेको छ। यो प्रकरणमा हालसम्म १७ जना पक्राउ परेका छन् ।
यसरी यति ठूलो मात्रामा तस्करीको सुन बरामद भएपछि एमाले अध्यक्ष ओलीले सुरक्षाको विभागीय जिम्मेवारीमा रहने गृहमन्त्री श्रेष्ठमाथि निसाना साँधेका हुन् । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
