काठमाडौं । बुढानिलकण्ठबाट प्रहरी हवल्दार घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख घुससहित बरिष्ठ हवल्दार विष्णु सिंह पक्राउ परेका हुन् ।
प्रहरी प्रभाग बुढानिलण्ठमा कार्यरत हवल्दार सिंह कुख्रे खोलाको ढल तथा सरसफाई र निकाश गर्दा निस्कने बालुवा व्यवस्थापनमा सहजिकरण गर्न घुस लिँदै गर्दा पक्राउ परेका हुन् ।
टंगालस्थित अख्तियारबाट खटिएको टोलीले उनलाई बुढानिलकण्ठ नगरपालिका–२ बासिकबाट पक्राउ गरेर अनुसन्धान थालेको छ । बुढानिलकण्ठ प्रभागको इन्चार्ज प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिपेन्द्र चन्द छन् ।
हबल्दार सिंह इन्स्पेक्टर चन्दका विश्वासपात्र प्रहरीको रुपमा चिनिन्छन् । उनै चन्दले सिंहलाई हवल्दार मेजरको रुपमा राखेका थिए । त्यसैले इन्चार्ज चन्द समेत यो घुसकाण्डमा तानिनसक्ने सम्भावना रहेको एक अधिकृत बताउँछन् ।
