भरतपुर । सोमबार जिल्ला प्रशासन कार्यालय चितवनले चौबिसकोठीका औषधी पसलमा अनुगमन गरेको छ ।
गृह मन्त्रालयको निर्देशनमा प्रशासन कार्यालयका नासु विश्वास श्रेष्ठको नेतृत्वमा औषधी पसलहरुको अनुगमन गरिएको हो ।
अनुगमनमा स्वास्थ्य कार्यालय चितवनका निमित्त प्रमुख जयराम दुवाडी, प्रहरीलगायत सहभागी थिए ।
चौबिसकोठिका औषधी पसलहरुले औषधी खरिद गर्नेको नाम नै उल्लेख नगरी बिल जारी गर्ने गरेको पाइएको छ ।
त्यस्तै, बिल जारी गर्दा औषधीको ब्याच नम्बर र म्याद सकिने अवधि उल्लेख गर्नुपर्नेमा कसैले पनि त्यसको पालना गरेका छैनन् ।
सोमबार १० वटा पसलमा अनुगमन गरिएको हो ।
पसलको दर्ता प्रमाणपत्र नवीकरण नगर्ने रिजन फार्मेसीका सञ्चालकलाई प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको नासु श्रेष्ठले बताए ।
‘प्राय फार्मेसीले बिल काट्दा औषधी खरिद गर्नेको नाम नै उल्लेख नगरेको पाइयो । केही पसलमा औषधी बेच्न बस्नेले अनुमति पत्र देखाउन सकेनन्’, उनले भने, ‘औषधी बेच्न अनिवार्य फार्मेसी पढेको हुनुपर्छ ।’
