काठमाडौं । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले नेपालीलाई अमेरिका पुर्याइदिने भन्दै २ करोड २६ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।
ब्युरोको टोलीले पोखरा महानगरपालिका-२७ स्थायी घर भई काठमाडौंको गुहेश्वरी बस्दै आएका ३४ वर्षीय कमल तामाङलाई पक्राउ गरेको हो । ब्युरोका अनुसार उनीविरुद्ध हालसम्म ४ जनाको जाहेरी परेको छ ।
तामाङले पीडितबाट ११ लाखदेखि ६० लाख रुपैयाँसम्म उठाएको पाइएको ब्युरोका प्रमुख प्रहरी बरिस्ठ उपरीक्षक (एसएसपी) जीवन श्रेष्ठले जानकारी दिए ।
एसएसपी श्रेष्ठका अनुसार तामाङमाथि भारतको नयाँ दिल्ली हुँदै श्रीलंका, दुबई, सिंगापुर, फिलिपिन्स, थाइल्यान्ड, लाओस, जाम्बियालगायत देशसम्म पुर्याएर पिडितलाई अलपत्र पारेको आरोप छ ।
अमेरिका लैजाने बहानामा मानव बेचबिखन ओसारपोसार अपराधको जोखिममा १६ बर्षदेखि ५० बर्ष उमेर समुहका पुरुषहरु बढी रहेको ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) नरहरी रेग्मीले बताए ।
पक्राउ परेका तामाङविरुद्द जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भैरहेको ब्युरोले जनाएको छ ।
