काठमाडौ । प्रहरी प्रधान कार्यालय नक्सालले प्रहरी उपरीक्षक (एसपी) कृष्ण पंगेनीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ठूलो परिमाणको सुनबारे अनुसन्धान गर्न खटाएको छ ।
राजश्व अनुसन्धान विभागले प्रहरीको सहयोग मागेपछि प्रधान कार्यालयले एसपी पंगेनीलाई खटाएको प्रधान कार्यालयका प्रवक्ता एवम् नायब महानिरीक्षक (डिआइजी) कुवेर कडायतले जानकारी दिए ।
हाल एसपी पंगेनी मानव बेचविखन अनुसन्धान ब्युरोमा कार्यरत छन् । गत मंगलबारदेखि राजश्व अनुसन्धान विभागका अधिकृतहरूले अनुसन्धान गरिरहेको थिए ।
त्यस्तै भन्सार विभागले समेत छानबिन समिति गठन गरेको छ । अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा रहेको उक्त समितिले अहिले काम गरिरहेको छ ।
विभागबाट खटिएको टोलीले गत मंगलबार विमानस्थलको भन्सार जाँचपास भएको अन्दाजी १०० किलो सुन बरामद गरेको थियो । हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्सको जहाजमा आएको ब्रेक शुमा लुकाएर ठूलो परिमाणको सुन भित्रिएको थियो ।
उक्त सुन बरामद प्रकरणमा हालसम्मा १६ जना पक्राउ परेका छन् ।
