काठमाडौ । राजस्व अनुसन्धान विभागले गत बुधबार बरामद गरेको अवैध सुनबारे विस्तृत अनुसन्धानका लागि ५ जना अधिकृत तोकेको छ । विभागले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन ।
ठूलो परिमाणमा भित्रिएको अवैध सुनको कारोबारमा जोडिएका अरु व्यक्तिको खोजीका लागि अनुसन्धान अधिकृतहरू तोकिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
यो प्रकरणबारे विस्तृत अध्ययन गर्नका लागि राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा १० को व्यवस्थाअनुसार अनुसन्धान अधिकृतहरू तोकिएका छन् ।
५ सदस्यीय अनुसन्धान अधिकृतको समूहले उक्त अवैध सुनका विषयमा थप अध्ययन तथा अनुसन्धान गरी विस्तृत अध्ययन प्रतिवेदन तयार पारेर बुझाउनेछ ।
ऐनले विभागका महानिर्देशक आफैँ रहन सक्ने वा महानिर्देशकको निर्देशनमा काम गर्ने गरी अनुसन्धान अधिकृत तोकिन सक्ने व्यवस्था गरेको छ ।
राजस्व चुहावटसँग सम्बन्धित प्रमाण सङ्कलन गर्दा कसुरमा मुछिएका व्यक्तिलाई पक्राउ गरी कारबाही चलाउने, गोदाम वा आवश्यकतानुसार अन्य स्थानको खानतलासी लिने, त्यस्तो गोदाम वा स्थानलाई सिल गर्ने, सम्बन्धित कागजपत्र तथा मालवस्तु आफ्नो कब्जामा लिनेलगायतका अधिकारसहित अनुसन्धान अधिकृतहरू तोकिएका हुन् ।
यो प्रकरणमा हालसम्म पक्राउ परेका १० जनालाई अनुसन्धानका लागि म्याद थप गरेर बयान लिने क्रम चलिरहेको छ ।
त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका दुई जना कर्मचारीलाई निलम्बन गरिएको छ ।
रेडी ट्रेडर्सका नाममा हङ्कङबाट आयात भएको दुईपाङ्ग्रे सवारीको पार्टस् (ब्रेक सु) भित्र लुकाएर ल्याइएको करिब १ क्विन्टलभन्दा बढी सुन त्रिभुवन विमानस्थल बाहिर बरामद भएको थियो ।
