सुनसरी । सुनसरीको इटहरी–१७ कान्छी चौकस्थित पूर्व–पश्चिम राजमार्गमा शुक्रवार राती ११ बजे दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इटहरी–१६ का २६ वर्षीय करण चौधरी, २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरी रहेको सुनसरीका प्रहरी उपरीक्षक (एसपी) प्रभु ढकालले जानकारी दिए ।
चारजना चढेको मोटरसाइकल पिकअपसँग ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पश्चिमतर्फ जादै गरेको भारतीय नम्बर डब्ल्यू बी ७३ ई ९११७ को पिकअपसँग पश्चिमबाट पूर्व आउँदै गरेको को२९प ३७१२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएको थियो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार चारैजनालाई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।
उपचारका क्रममा करण, शम्भु र अनिनेशको मृत्यु भएको प्रहरी एसपी ढकालले बताए । गम्भीर घाइते भएका २७ वर्षीय प्रेमलाल चौधरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
पिकअप चालक भारत दार्जीलिङ फोडिगढीका ३२ वर्षीय गोविन्द वरमुनलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको ढकालले बताए ।
मोटरसाइकल तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
दुर्घटना भएको स्थान इटहरी वडा नं. १७ मा पर्दछ ।
