काठमाडौं । गत ३१ असारको बिहानै सप्तरी कञ्चनरुप नगरपालिका, ८ बेरियर चौकमा रहेको बस बिसौनीको प्रतिक्षालयमा परिचय नखुलेको मागी खाने अन्दाजी ६० ६५ वर्षीय पुरुष मृतक फेला परेका थिए ।
उनलाई चिरपट प्रहार गरि हत्या गरिएको प्रहरीको आशंका थियो । तत्काल इलाका प्रहरी कार्यालय कञ्चनरुपले घटनालाई सिरियस लिएर अनुसन्धान अगाडि बढायो । प्रहरी अनुसन्धानको क्रममा एक युवकले ती पुरुषको हत्या गरेको खुलेको छ ।
ती युवकले बिँडी नदिएको निहुँमा ती पुरुषको हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न कञ्चनरूप नगरपालिका १० बदगमा टोलका २८ वर्षीय मनोज पासवानलाई प्रहरीले पक्राउ गरेर सोधपुछ गरिरहेको छ ।
सप्तरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक रायका अनुसार मागी खाने व्यक्ति प्रतिक्षालयमा सुती बिँडी खाइरहेको र आफूलाई पनि खान मन लागेपछि पासवानले एउटा बिँडी मागेका थिए ।
तर मागिखाने व्यक्तिले बिँडी नदिई तथानाम गालीगलौज गर्न लागेपछि आवेगमा आई छेउमा रहेको बाँसको लाठीले उनको टाउकोमा प्रहार गरि भागेको अभियुक्तले बयान दिएको डिएसपी रायले बताए ।
ती पुरुषको हत्यामा संलग्न पासवानलाई बुधबार पक्राउ गरी उनीउपर कर्तव्य ज्यान मुद्दामा कानुन कारबाहीको लागि अदालतबाट म्याद थप गरिएको डिएसपी रायले बताए । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
