कलैया । जिल्ला प्रहरी कार्यालय बाराका नायब उपरीक्षक (डिएसपी) पुरूषोत्तम पाण्डे र निरीक्षक (इन्स्पेक्टर) रूपेश साहलाई निलम्बन गर्नुपर्ने माग राख्दै सत्तारूढ दलको प्रमुख घटक नेपाली कांग्रेस र अर्को साझेदार दल नेकपा समाजवादीका नेताहरू आन्दोलनमा उत्रिएका छन् ।
उनीहरूले यी दुई प्रहरी अधिकारीहरूको राजीनामालाई आफ्नो प्रमुख माग राखेर आन्दोलन शुरू गरेका हुन् । बाराका प्रमुख जिल्ला अधिकारीलाई बुधबार ज्ञापनपत्र बुझाउँदै उनीहरूको राजीनामा नआए चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
सवारीसाधन दुर्घटना सम्बन्धि छलफल चलिरहेको बेला डिएसपी पाण्डे र इन्स्पेक्टर साहले छलफलमा सहभागी भएका नेपाली काङ्ग्रेसमा बारा जिल्ला सचिव भैयाराम यादव र नेकपा एसका बारा उपसचिव ध्रुव यादवलाई कुटपिट गरि थुनामा राखेको आरोप लगाएका छन् ।
निरीक्षक साह अहिले बारा जिल्ला प्रहरी कार्यालयको उजुरी शाखा प्रमुख हुन् । तर उनको दरबन्दी बारा पनि होइन । दरबन्दी बिना उनी यहाँ कार्यरत छन् । यसअघि उनी इप्रका बारागढीको प्रमुख समेत थिए ।
उनले त्यहा प्रमुख हुँदा हवल्दार रवीन्द्र यादवलाई घुमुवाको रूपमा परिचालन गरेको स्रोत बताउँछ । त्यतिबेला यी दुवै जना धेरै विवादमा परेको बताइन्छ ।
अहिले जिल्ला प्रहरीको उजुरी शाखामा कार्यरत हुन आएपछि इन्स्पेक्टर साहले आफ्नो घुमुवा यादवलाई पनि संगै ल्याई गोप्यरूपमा परिचालन गरेका स्रोतको दाबी छ । यो कुरा प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीलाई समेत थाहा नभएको समेत जिल्ला प्रहरी स्रोत बताउँछ ।
