काठमाडौं । नेकपा एमालेका नेता नवराज सिलवालले बरामद सुन प्रकरणमा गृहमन्त्री र प्रहरी महानिरीक्षक (आईजी) को निष्ठामाथि शंका गर्ने ठाउँ नभएको बताएका छन् ।
सय केजी सुन बरामद घटनामा एमालेका केही नेताहरुले अराजकता देखाइरहेका बेला पूर्वसांसद सिलवालले यस्तो बताएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल प्रहरीका अवकाशप्राप्त प्रहरी नायब महानिरीक्षक समेत रहेका सिलवालले यस प्रकरणमा अन्य उच्च पदाधिकारीको मिलेमतोको आशंका व्यक्त गरेका छन् ।
सिलवालले लेखेका छन्– ‘गृहमन्त्री र आईजीको निष्ठामा शंका गर्ने अवस्था देख्दिन । तर यथार्थ के हो भने, क्वीन्टल परिमाणको सुन तस्करी उच्च सरकारी पदाधिकारीहरूको मिलिमतो र सेटिंग बिना सम्भव छैन । आशा गरौं जडसम्म पुगेर निष्पक्ष अनुसन्धान हुनेछ ।’
एमालेका केही नेताहरुले गृहमन्त्री र प्रहरी प्रमुखको सेटिंगमै सुन आइरहेको आरोप लगाएका छन् । तर, उक्त आरोपलाई नेता सिलवालले खण्डन गर्दै त्यस्तो शंका गर्ने ठाउँ नरहेको बताएका हुन् ।
