काठमाडौं । प्रहरी महानिरीक्षक (आईजी) बसन्त बहादुर कुँवरले सुरक्षा जस्तो संवेदनशील सेवामा काम गर्नुपर्ने भएकोले प्रहरीले कानून, समाज र परिवर्तनका नियमलाई बुझ्नुपर्छ र त्यसका लागि आफ्नो अध्ययन र बुझाइको धारणालाई बृहत बनाउन जरूरी रहेको बताएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. मनोज कुमार केसीद्वारा लिखित ‘Enhancing Policing in Nepal, A Human Security-Informed Approach, Concepts & Implications’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै आईजी कुँवरले उक्त कुरा बताएका हुन् ।
आईजी कुँवरले प्रहरी सेवामा रहँदा रहँदै बौद्धिक तथा प्राज्ञिक क्षेत्रमा समेत योगदानको लागि समय निकाल्न सफल प्रहरी वरिष्ठ उपरीक्षक डा. केसीको समर्पण र लगाव अनुकरणीय रहेको उल्लेख गरे ।

जनमानसको परम्परागत बुझाइमा प्रहरी भनेको फिल्डमा ढाल, डन्डा, लठ्ठी र बन्दुक बोकेर खटिने भएपनि यस पुस्तकले आम नागरिकमा व्याप्त रहेको सो धारणा चिर्न केही हदसम्म सफल हुने र नेपाल प्रहरी फिल्ड ड्यूटीमा मात्रै हैन बौद्धिक क्षेत्रमा पनि सक्षम छ भन्ने दृष्टान्त यस पुस्तक विमोचन समारोहको सन्देश भएको उनले उल्लेख गरे ।
साथै यस पुस्तक नेपाल प्रहरी लगायत देश(विदेशका अन्य सुरक्षा निकायको लागि पनि महत्वपूर्ण दस्तावेजको रूपमा रहने विश्वास आईजी कुँवरले व्यक्त गरे ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, नेपाली सेनाका अवकाश प्राप्त रथी बालानन्द शर्मा र President of Center for Peace and Conflict Studies, Cambodia का डा. एम्मा लेस्लीले उक्त पुस्तक विमोचन गरेका थिए ।

नेपाली सेनाका अवकाश प्राप्त रथी बालानन्द शर्मा र President of Center for Peace and Conflict Studies, Cambodia का डा. एम्मा लेस्लीले पुस्तक सम्बन्धी आआफ्नो धारणासहितको मन्तव्य व्यक्त गर्दै पुस्तक सुरक्षा निकायमा कार्यरतका साथै अनुसन्धानमा संलग्नलाई विशेष उपयोगी हुने बताए ।
समारोहमा स्वागत मन्तव्य व्यक्त गर्दै पुस्तकका लेखक एसएसपी केसीले पुस्तकको विषयबस्तु, रिसर्चका लागि अपनाइएका उपायहरू लगायतका विषयमा संक्षिप्त प्रस्तुतीकरण गरेका थिए ।
समारोहमा सशस्त्र आईजी राजु आर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, अवकाश प्राप्त आईजीहरु, काठमाडौं विश्वविद्यालयका प्राध्यापक, नेपाली सेनाका उपरथीहरू, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरू, अवकाश प्राप्त एआईजीहरू, गृहमन्त्रालयका सहसचिव, अवकाश प्राप्त एवम् वहालवाला वरिष्ठ प्रहरी अधिकृतहरू, विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो ।

