काठमाडौ । बुधवार राती बरामद करिब १०० किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित गोदाममा पाँच दिनसम्म होल्ड गरेर राखिएको खुलेको छ ।
सबै सेटिङ मिलेपछि बुधवार ६३ हजार रुपैयाँ भन्सार बुझाएर जाँचपास गराई भन्सारको गेटबाट बाहिर लगिरहेको अवस्थामा राजस्व अनुसन्धान विभागले सुन बरामद गरेको हो ।
स्रोतकाअनुसार बरामद गरिएको सुन गत असार २९ गते नै हङकङबाट काठमाडौं आएको थियो । त्यसपछि सिनामंगलस्थित नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडको गोदाममा भण्डारण गरेर राखिएको थियो ।
१६० पीस ब्रेकप्याडको भन्सार शुल्क ६३ हजार रुपैयाँ रेडी ट्रेड प्रालिका सञ्चालक दिलिप भुजेलले बुझाएपछि सुन बुधवार छाडिएको हो ।
बुधवार नै उक्त ब्रेकप्याड ट्याक्सीमा ढुवानी गरेर लगिरहेको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको हो । मोटरसाइकल र स्कूटरको स्पेयर पार्टस् तथा दाह्री काट्ने रेजर आयात गरेको देखाएर त्यसभित्र सुन ल्याइएको थियो ।
