काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनाको १३ औं महिनामा दौडिरहेको छ । गत ७ असार २०७९ सालमा जन्मिएको रास्वपाले यहाँसम्म आइपुग्दा थुप्रै विरोधसँगै सफलता पनि हासिल गरेको छ ।
तर, पार्ठी गठन गरेको चार महिनामै चौथो संसदीय शक्तिको रुपमा उदाएको रास्वपाको विवाद पछिल्लो समय छताछुल्ल भएको छ । यति छोटो समयमै रास्वाभित्र गुट उपगुट खडा भएको छ । स्रोतका अनुसार रास्वपाभित्र तीनवटा गुट छ ।
४ मंसिरको आमनिर्वाचन र १० वैशाखको उपनिर्वाचनमार्फत मुलधारको स्थापित राजनीतिक दललाई समेत हायलकायल पार्ने संकेत गरेको रास्वपा सभापति रवि लामिछाने अल्पमतमा पर्न थालेको चर्चा चल्न थालेको छ ।
खासगरी पार्टी सभापति लामिछाने र सांसद स्वर्णिम वाग्लेको व्यक्तित्व टकरावले पार्टीभित्र अघोषित रुपमा अन्तरविरोध सिर्जना भएको बताइन्छ । वाग्लेभित्र देखिएको अहम र पार्टीभित्र आफूमात्र जान्नेबुझ्ने नेता भएको सन्देश दिएर सांसदहरुसँग सामान्य छलफल समेत गर्न छाडेका छैनन ।
पार्टीमा वाग्ले आएमा धेरै कुरा सिकिन्छ भनेर आश गरेका रास्वपाका सांसदहरु यतिबेला निराश हुन थालेका छन् । उनीहरुले आफू निकटहरुसँग समेत उक्त निराशाको कुरा पनि गरिरहेको बताइन्छ ।
वाग्ले भने लामिछानेले आफ्नो वाचा पूरा नगरेको अर्थमा निराशा व्यक्त गरिरहेका छन् । पार्टीमा आफूलाई बरिष्ठ उपसभापति दिने आश्वसन पाएका वाग्लेले बताउँदै आउने गरेका छन् । तर, अहिलेसम्म लामिछानेले पार्टीमा वाग्लेलाई कुनै जिम्मेवारी दिएका छैनन् ।
चुनावअघि लामिछानेले उक्त आश्वसन दिएपनि अहिलेसम्म कार्यान्वयन नगरेको भन्दै असन्तुष्टि जनाएका स्रोत बताउँछ । लामिछानेले सामान्य व्यक्तिलाई केन्द्रीय सदस्य बनाएपनि कांग्रेसबाट आएका सांसद मनिष झालगायत कतिपय सांसदलाई केन्द्रीय सदस्य पनि बनाएका छैनन । त्यसैले पनि असन्तुष्टि बढिरहेको छ ।
सांसद वाग्लेमा देखिएको महत्वकांक्षा र अवसरको खोजीले बढाएको अहमकै कारण लामिछाने केही होइन भन्ने जस्तो आशय वाग्लेले देखाउन थालेको भन्दै रास्वापामा चर्चा हुन थालेको छ ।
यो चर्चासँगै अहिले रास्वापामा ३ वटा समूह देखिएको छ । पूर्व कांग्रेसहरुको समुह वाग्लेले नेतृत्व गर्ने देखिएको छ भने काठमाडौंका मेयर बालेन साहको समूहको नेतृत्व गणेश कार्कीले गर्ने देखिन्छ ।
कार्कीको नेतृत्वमा चुनावअघि बालेन समूह लामिछानेसँग सहकार्य गर्न आएको थियो । तर, यो समूह पनि सुरुदेखि नै लामिछानेसँग असन्तुष्ट रहेको छ । लामिछानेले बालेनको समूहका व्यक्तिलाई पनि समेटेर लैजाने गरेको पाइएको छैन ।
रास्वपामा सभापति लामिछानेको अर्को समूह रहेको छ । यसरी हेर्दा रास्वपामा तीनवटा गुट देखिएको उनीहरुकै नेताहरु बताउँछन् । जसले गर्दा आश गरेको पार्टीभित्रै गुट उपगुट खडा हुनुले जनताहरु सोच्न बाध्य भएका छन् ।
गएको ७ असारमा पार्टी स्थापना दिवसको दिन सार्वजनिक गर्ने भनिएको पार्टीको राजनीतिक प्रतिवेदनसमेत पार्टीभित्रकै विवादमा कारण अहिलेसम्म सार्वजनिक हुन सकेको छैन । जसले गर्दा रास्वपाभित्र विवाद छ भन्ने बुझिन्छ ।
सभापति लामिछाने र सांसद वाग्लेबीच शक्तिको लडाँइ सुरु भएको चर्चा चलिरहँदा गत हप्ता जिल्ला तहमा नेता कार्यकर्ता हानाहानमा उत्रिए ।
रुपन्देहीमा रास्वपाका दुई गुटमा हानाहान भएको हो । गत वुधवार राती पार्टीको सैनामैना नगर समितिको कार्यालयमै दुई पक्षीय कार्यकर्ताको कुटाकुट भएको थियो ।
मंसिरमा हुन लागेको अधिवेशनमा कस्ले नेतृत्व गर्ने भन्ने विषयमा त्यहाँ विवाद देखिएको हो । पार्टी स्थापना समयदेखि पार्टीमा आवद्ध कार्यकर्ताको सदस्यता खारेजी गरेको भन्दै सुरु भएको विवाद कुटपिटमा पुगेको थियो ।
