काठमाडौं । राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पार गरेर बरामद गरेको सुनको परिमाण आज यकिन गर्ने भएको छ ।
विभागका महानिर्देशक नवराज ढुंगानाले ८० देखि १०० किलोको बीचमा सुन रहेको अनुमान रहे पनि यकिन परिमाण आज सार्वजनिक गरिने जानकारी दिए ।
सुन हङ्कङबाट आएको खुले पनि तस्करमा संलग्न, प्रयोजन र यकिन परिमाणबारे थप अनुसन्धानपछि मात्र भन्न सकिने विभागले जनाएको छ ।
सुन ओसारपसारमा संलग्न रहेको आरोपमा हालसम्म ६ जना पक्राउ परेका छन् । ट्याक्सी चालकसहित ६ जनालाई पक्राउ गरिएको बताइएको छ ।
पक्राउ पर्नेहरुमा दिलिप भुजेल, रामकुमार भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई, ट्याक्सी चालक र थप दुई जना गए राति नै पक्राउ परेको राजश्व अनुसन्धान स्रोतले बतायो ।
भन्सारका कर्मचमारीसँगको मिलेमतोमा मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन बुधबार जाँच पास गरिएको थियो । बरामद सुन भारततर्फ तस्करी गर्ने तयारी रहेको अनुमान गरिएको छ ।
तर, अहिलेसम्म सुन तस्करीको नाइके पत्ता लागेको छैन ।
