काठमाडौ । चितवन प्रहरीले ग्यास बुलेटको टुलबक्समा लुकाइएको ७० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । खैरहनी पर्साबाट पूर्वतर्फ जाँदै गरेको ग्यास बुलेटमा चेक जाँच गर्ने क्रममा गाँजा फेला हो ।
पक्राउ पर्नेहरू भारतको झारखण्ड कोर्डमा बस्ने ३५ वर्षीय मनोजकुमार पासवान र मकवानपुरको मनहरी–७ का ४५ वर्षीय राजु वाइवा रहेका छन् ।
बुधबार दिउँसो साढे १ बजेतिर राप्ती–१ लोथरबाट गाँजासहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले जानकारी दिए ।
एसपी कार्कीकाअनुसार भारतीय नम्बर प्लेटको खाली ग्यास बुलेटको सिटमूनि र टुलबक्समा लुकाइएको अवस्थामा ११ पोका गाँजा बरामद भएको हो । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको उनले बताए ।
‘प्रारम्भिक अनुसन्धानमा यो गाँजा भारततर्फ लैजान लागेको बुझिएको छ,’ एसपी कार्कीले भने, ‘चितवन, मकवानपुरको पहाडी क्षेत्रमा लगाइएको गाँजा हुनसक्छ ।’
अनुसन्धानको क्रममा दुबै जना गाडीका चालक रहेको खुलेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
