काठमाडौं । प्रहरी महानिरीक्षक (आईजी) बसन्त बहादुर कुँवरले उत्कृष्ट काम गर्ने प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)देखि कार्यालय सहयोगीसम्मलाई पुरस्कृत गरेका छन् ।
आईजी कुँवरबाट पुरष्कृत हुनेमा एआईजी मिरा चौधरी, प्रहरी नायब महानिरीक्षक (डीआईजी) बुद्विराज गुरूङ, प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) हरु दानबहादुर कार्की, मनोज केसी र दिनेश आचार्य रहेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्ने एसएसपीद्वय कार्की र केसी पुरस्कृत भएपछि संगठनमा काम गर्नेको मूल्यांकन हुँदोरहेछ भन्ने एउटा सन्देश गएको छ ।
आईजी कुँवरले उत्कृष्ट काम गरेको भन्दै काठमाडौं प्रहरी परिसर प्रमुख कार्की र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख केसीलाई नगदसहित पुरष्कृत गर्ने निर्णय गरेका हुन् ।
त्यस्तै विभिन्न जिल्लाका प्रहरी उपरीक्षक (एसपी)हरू दिलिप घिमिरे, नरेशराज सुवेदी, रामेश्वर कार्की, देवेन्द्रबहादुर पाल, सन्तोष खड्काले पनि नगद पुरस्कार पाएका छन् । यस्तै नायब उपरीक्षक (डीएसपी)हरू अञ्जना श्रेष्ठ, जयश्वर रिमाल, प्रदीन ताम्राकारले पनि नगद पुरस्कार पाएका छन् ।
यसैगरी प्रहरी निरीक्षक (इन्स्पेक्टर) कृष्ण बहादुर कुँवर, नायब निरीक्षक (सई) दिव्यराज मोक्तान, सहायक निरीक्षक (असई) रोशन आँगा श्रेष्ठ, प्रहरी बरिष्ठ हवल्दार सरोज गिरी अथित, प्रहरी सहायक हवल्दार मनिष लामा पनि नगदसहित पुरस्कृत भएका छन् ।
त्यस्तैगरी, प्रहरी सहायक हवल्दारहरु विकास विक, सुशीला लामा, दीपक सिंह खत्री, प्रहरी कार्यालय सहयोगीहरु पुरुषोत्तम नेपाल, धिरेन्द्र कुमार मण्डल र दिपक खड्कालाई आईजी कुँवरदे नगदसहित पुरस्कृत गरेका हुन् ।
विभागीय नीति तथा आदेश निर्देशनलाई आत्मसाथ गरि निर्दिष्ट जिम्मेवारी अनुशासित ढंगले लगनशील, इमान्दार, व्यवसायिक एवं कर्तव्यनिष्ठ तवरले कुशलतापूर्वक प्रशासनिक रूपमा कार्य सम्पादन गरेको भन्दै आईजी कुँवरले पुरष्कृत गर्ने निर्णय गरेको प्रहरी प्रधान कार्यालय प्रशासन शाखाले जनाएको छ ।
यो निर्णयले प्रहरी कर्मचारीमा सकारात्मक प्रभाव पर्ने प्रहरी प्रधान कार्यालयको विश्वास छ ।
