काठमाडौं । सरकारले नियुक्ती पत्रमा कार्यकाल समेत नतोकिएका बीमा प्राधिकरण (तत्कालिन बीमा समिति)का अध्यक्ष सुर्य सिलवाललाई हटाउने तयारी थालेको छ ।
नियामक निकायमा बसेर नियमन बाहेकका काम मात्रै गरेको, नागरिकता र जन्म मितिबारे विवादमा फसेको, निश्चित घरानाहरुलाई पोस्ने गरि पोलिसी बनाएको, सरकारी लगानीका कम्पनीहरुको व्यवसाय खोसेको लगायतका आरोपसहित सरकारले सिलवाललाई हटाउने तयारी थालेको स्रोतले बताएको छ ।
अर्थमन्त्री डा. प्रकाश शरण महतले सिलवालको विकल्पमा नयाँ पात्रहरुको खोजी समेत सुरु गरिसकेको स्रोत बताउँछ ।
अर्थमन्त्रालय निकट उच्च स्रोतका अनुसार सिलवालको नियुक्ती नै अबैधानिक रहेको भन्ने कोणबाट मन्त्रालयले अध्ययन गरिरहेको छ ।
मन्त्रिपरिषदको निर्णय अनुसार अर्थ मन्त्रालयले २०७७ माघ २० गते सिलवाललाई नियुक्ती पत्र थमाएको थियो ।
सो नियुक्ती पत्रमा माघ १९ गतेको मन्त्रिपरिषद्को निर्णयले बीमा ऐन, २०४९ को दफा ६ तथा अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धि मापदण्ड, २०७३ बमोजिम सिलवाललाई अध्यक्ष पदमा नियुक्त गरिएको भनिएको छ ।
सिलवालले अध्यक्षको नियुक्ती पाउँदा उनको उमेर ६४ बर्ष रहेको बताइन्छ । तर उनले अहिलेसम्म पनि अध्यक्षको जिम्मेवारीमै छन् ।
सिलवालको नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र र राहदानीमा फरक फरक उमेर देखिएको स्रोतको भनाइ छ । तर पनि अहिलेसम्म उनले आफ्नो उमेर सम्बन्धी यथार्थ जानकारी सार्वजनिक गरेका छैनन् ।
