काठमाडौं । नेपाल भलिबल संघले नेपाल पुरुष राष्ट्रिय भलिबल टिमको नयाँ कप्तानमा मानबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ ।
सोमबार बसेको संघको कार्यसमिति बैठकले त्रिभुवन आर्मी क्लबका स्पाइकर मान बहादुरलाई कप्तान नियुक्त गर्ने निर्णय गरेको हो ।
संघले आर्मीका सेटर हरि हजुर थापालाई राष्ट्रिय टिमको नेतृत्व गर्न नसकेको भन्दै कप्तानबाट बर्खास्त गरेपछि कप्तान पद खाली थियो ।
गत महिना मात्र कीर्गिस्तानमा भएको काभा नेसन्स लिगका लागि खुल्ला छनोटमा नियमित कप्तान इम राना मगरले भाग नलिएपछि संघले हरि हजुरलाई कप्तान बनाएको थियो ।
सातौं पीएम कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिग भलिबल दौरान गण्डकीविरुद्धको खेलमा थापाले कप्तानको भूमिका राम्रोसँग निर्वाह गर्न नसकेको र कर्तव्यविमुख भएको भन्दै संघले उनलाई कप्तानबाट हटाएको हो ।
