१० चैत २०७९ मा नेपाल प्रहरीको सर्वोच्च पद महानिरीक्षक (आईजी)मा नियुक्त भएका बसन्त बहादुर कुँवरले त्यसको दुई दिनपछि औपचारिक रुपमा नेतृत्व सम्हालेका थिए । कुँवरले नेतृत्व सम्हालेको आज ११३ दिन पूरा भयो ।
प्रहरी नेतृत्वको जिम्मेवारी सम्हाल्दै गर्दा कुँवरले भनेका थिए – ‘मेरो कार्यकालमा प्रहरी संगठनको आन्तरिक शुद्धिकरण पहिलो र मुल प्राथमिकता हुनेछ । त्यस्तै प्रहरीभित्रका विकृति र विसंगतिलाई हटाउने पनि प्राथमिकतामै छ ।’
संगठनमा आफूलाई सधैं इमान्दार अधिकृतको रुपमा परिचित गराएका आईजी कुँवरले त्यसो भनिरहँदा संगठनमा एकखालको उत्साह छाएको थियो । धेरैलाई मनमा लागेको पनि थियो बसन्त आईजी भएपछि संगठनभित्रको फोहोरहरु बाहिरिन्छन् ।
कुँवरअघिका आईजीले प्रहरी संगठन अस्तव्यस्त बनाएका थिए । अनियमितता र भ्रष्टाचारको जग नै बसालेको आरोप समेत लागेको थियो । त्यसलाई मिल्काउनु आईजी कुँवरलाई चुनौतीसँगै अवसर पनि थियो । जसको लागि कुँवरले सक्दो प्रयास गरिरहे ।
करिब चार महिनाको समयमा आईजी कुँवरले संगठन सुधारको लागि सक्दो प्रयास गरिरहेका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डिआईजी) कुवेर कडायत बताउँछन् । उनी भन्छन्, ‘सर्वसाधारण जनताले नै प्रहरीको कामको मुल्यांकन गरेका छन् नि ।’
आईजी कुँवरले यो पिरियडमा सर्वसधारण जनताको मन जित्ने गरी काम गरिरहेका छन् त ? मुख्यतयः आईजी कुँवरले आफ्नो कार्यकालमा पहिलो काम रोकिएको बढुवा निकालेर संगठनलाई चलायमान बनाउनु थियो । यसमा आईजी कुँवर सफल भएका छन् । केही बढुवा विवादित भएपनि समग्र रुपमा हेर्दा राम्रो थियो ।
त्यस्तै उनले अवधी पुगेका प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको भने सरुवा निकाल्न सकिरहेका छैनन् । इन्सपेक्टरहरुको सरुवा निकाल्न नसक्नुको कारण उनी आफैंमा निरिह भएर भने होइन । यसअघिका आईजीले कार्यविधिलाई कुल्चेर भटाभट काजमा पठाइदिँदा अहिले कुँवरलाई इन्स्पेक्टर सरुवा चुनौती बनिदिएको हो ।
संवाददातासँगको भेटमा पनि आईजी कुँवरले मापदण्ड विपरित काज खटाइएका अधिकृतहरुको कारण इन्स्पेक्टर सरुवा चुनौती बनिदिएको हो । तर, यसलाई छिट्टै नै टुंग्याएर संगठनलाई चलायमान बनाउने आईजी कुँवरले बताए । इन्स्पेक्टरबाट माथिका दर्जाको सरुवाअवधी पुगेको छैन ।
त्यस्तै प्रहरी नेतृत्वलाई अर्को सफलता हो नक्कली भुटानी शरणार्थी प्रकरण । यस प्रकरणमा प्रहरीले गरेको अनुसन्धानपछि सर्वसाधारण जनताले नै प्रहरीको प्रशंसा गरेका छन् । आईजी कुँवरको अडिग अडानको कारण आज भीआईपीहरु जेल चलान भएका छन् । इतिहसमै यो प्रहरीको लागि ठूलो सफलता हो ।
त्यस्तै ललिता निवास जग्गा प्रकरणमा समेत प्रहरीले भीआईपी आरोपीहरुलाई भटाभट पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले अनुसन्धान गरेको यस प्रकरणमा आईजी कुँवरले पूर्ण सहयोग गरिरहेको अवस्था छ । जसले गर्दा आईजी कुँवर आफ्नो कार्यकाललाई सम्झनलायक बनाउन लागि परिरहेका छन् ।
हरेक हिसाबमा अहिलेको राजनीतिक नेतृत्वबाट प्रहरीलाई कामकाज गर्न सजिलो रहेको कुँवरको बुझाइ छ । त्यसैले हरहिसाबमा संगठन रूपान्तरणको उपयुक्त अवसर अहिले हो भन्ने बुझेको छु । एउटा सिपाही भएर संगठन सुधारको लागि निरन्तर लागिपरेको छु । जसले गर्दा भोलिका दिनमा प्रहरीको छवी उच्च बनोस् ।
आफूलाई संगठनको सिपाही भन्न रुचाउने आईजी कुँवर भन्छन्, ‘सरकारको समेत समर्थनको कारण आज सिंगो प्रहरी संगठनको शिर ठाडो भएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठज्यूको निर्देशनमा प्रहरीले गरेको गहन अनुसन्धानले काम गरेको अवस्था छ । यसमा तपाई हामी सबै धन्यवादको पात्र हौं ।’
नेपाल प्रहरी संगठनलाई सुधार गर्न अहिले उपयुक्त समय रहेको बताउँदै आईजी कुँवरले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान गरिएको अपराध र ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीले जारी राखेको अनुसन्धानमा कुनै राजनीतिक हस्तक्षेप नरहेको दाबी गरे ।
हरेक हिसाबमा अहिलेको राजनीतिक नेतृत्वबाट प्रहरीलाई कामकाज गर्न सजिलो रहेको कुँवरको बुझाइ छ । ‘त्यसैले हरहिसाबमा संगठन रूपान्तरणको उपयुक्त अवसर अहिले हो भन्ने बुझेको छु । एउटा सिपाही भएर संगठन सुधारको लागि निरन्तर लागिपरेको छु । जसले गर्दा भोलिका दिनमा प्रहरीको छवी उच्च बनोस्,’ आईजी कुँवरले स्कुपखबरसँगको कुराकानीमा भने ।
प्रहरीभित्र यसअघि गुटबन्दी हुने गरेपनि आफू आईजी भएपछि त्यस्तो अवस्था नरहेको बताउँदै कुँवरले भने, ‘प्रहरी एकजुट भएर काम गर्दा राजनीतिक नेतृत्वको अनियमितता, आर्थिक चलखेल र शक्तिकेन्द्रको दबाबविरुद्ध तथा ऐन र नियमको परिधिभित्र एउटा गतिका साथ काम गर्न सकिन्छ ।’
आईजी कुँवर आफ्ना प्रहरी कर्मचारीहरुको हकहतिको बारेमा पनि सजग रहेका छन् । जुन कुरा गृहमन्त्री श्रेष्ठले नै खुलासा गरिदिएका छन् । आइतबार गृह मन्त्रालयमा ‘शान्तिसुरक्षा सुदृढीकरण’का लागि सुरक्षा निकायका पूर्वउच्च अधिकारीसँगको छलफलमा गृहमन्त्री श्रेष्ठले आईजी कुँवरले राखेको चासोबारे बताएका थिए ।
गृहमन्त्री श्रेष्ठले सोह्र वर्ष सेवाअवधि पुगेका प्रहरी जवान र हवल्दार तथा १८ वर्ष सेवाअवधि पुगेका प्रहरी सहायक निरीक्षक र प्रहरी नायब निरीक्षकलाई २० वर्षमा निवृत्तिभरण (पेन्सन) पाउने गरी स्वेच्छिक अवकाश दिने व्यवस्थालाई कार्यान्वयनमा ल्याउन आईजीले आफूलाई भनिरहेको बताए ।
गृहमन्त्री श्रेष्ठले भनेका थिए – ‘प्रहरी महानिरीक्षकले पनि यो हटाउन आफूले के त्याग गर्नुपर्छ म तयार छु भन्नुभएको छ ।’ त्यसैले यो तत्कालै कार्यान्वयनमा आउने र त्यसका लागि अर्थ मन्त्रालयसँग छलफल भइरहेको गृहमन्त्री श्रेष्ठले बताए ।
यसरी गृहमन्त्रीले नै आईजीले चासो राखेको कुरा बताएपछि कुँवर संगठन सुधारको लागि परिरहेका छन् भने बुझन सकिन्छ ।
त्यस्तै आफू महानिरीक्षक बनेपछि कुँवरले आफ्नो दुईवर्षे कार्यकालमा सम्पन्न गर्ने गरी अघि सारिएका कार्ययोजना सार्वजनिक समेत गरेका छन् । प्रहरीका वर्तमान गतिविधि र चुनौती, शान्ति सुव्यवस्था, अपराध नियन्त्रण र अनुसन्धानको अवस्थाबारे कार्ययोजनामा समेटेका छन् ।
