काठमाडौं । नाबालिग बलात्कारको घटनामा पक्राउ परेका ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी) का सञ्चालकहरु छुटेका छन् । उनीहरु बुधबार मध्यराती छुटेका हुन् ।
एलओडीमा १५ वर्षीया किशोरीलाई प्रवेश गराएरको आरोपमा सञ्चालकहरु राजुसिंह सुवाल २१ असारमा र २२ असारमा रुदिल बल्लभ श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियो ।
क्लबमा नाबालिगलाई ऐन विपरीत प्रवेश दिएको घटनामा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको थियो ।
तर, बुधबार सरकारी वकिलको कार्यालयले नाबालिग एलओडी प्रवेश गरेको भनिएको दिन सञ्चालक (उनीहरु) त्यहाँ नरहेको पाइएपछि छाड्न आदेश दिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए ।
एसएसपी कार्कीले भने, ‘सरकारी वकिलको कार्यालयले नै मुद्दा चलाउन पर्ने आवश्यक नदेखिएको भन्दै उनीहरुलाई छाड्न आदेश दिएको हो । सोही आधारमा उनीहरुलाई छाडिएको हो ।’
तर, प्रहरीले उनीहरुलाई मध्यराति १२ बजेको समयमा छाडेको स्रोत बताउँछ । ‘बार्गेनिङ मिलेपछि उनीहरुलाई छाड्न प्रहरी तयार भएको हुनपर्छ,’ स्रोत भन्छ, ‘होइन भने राति राति किन छाडियो ? उज्यालो हुँदैनथ्यो र भोलिपल्ट ?’
प्रहरी स्रोतका अनुसार १६ वर्षीया नाबालिग जेठ ३१ गते राति फेसबुकबाट चिनजान भएकी एक साथीसँग क्लबमा पुगेकी थिइन्। यसरी क्लबभित्र पसेकी पीडितको भेट पोखरा घर भई बागडोलमा बस्ने ५० वर्षीय सुदन कोइरालासँग भएको थियो ।
एलओडीबाट मदिरा सेवन गराई ती नाबालिगलाई गाडीमा हालेर ललितपुर बागडोलाम पुर्याएर कोइरालाले बलात्कार गरेको किशोरीले प्रहरीलाई बताएपछि घटना बाहिर आएको हो ।
ललितपुर प्रहरीले बलात्कार आरोपित कोइरालालाई सोही दिन पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
