काठमाडौं । ३० असारमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को निर्वाचन हुँदैछ । निर्वाचनपछि इक्यानले नयाँ नेतृत्व पाउँदैछ । अध्यक्षको लागि शेषराज भट्टराई प्यानलसहित चुनावी मैदानमा होमिएका छन् ।
भट्टराई नेतृत्वको प्यानलमा उपाध्यक्षका उम्मेद्वार श्रीराम पौडेल, गीता सिवाकोटी, दयाराम थापा छन् । यस्तै महासचिवमा दीपकराज भुषाल, सचिवमा भवनाथ हुमागाई र रत्नबहादुर भट्टराईले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी कोषाध्यक्षमा आशिक कार्की र सहकोषाध्यक्षमा विकल्पराज पोख्रेलले उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै कार्यसमति सदस्यका लागि सुवर्ण बस्नेत, विजयकुमार बस्नेत, रमेश लुइटेल, उमा खड्का, गोविन्द खनाल, हेमराज थापा मैदानमा उत्रिएका छन् ।

इक्यान अध्यक्षका प्रत्यासी रहेका भट्टराईले आफ्नो नेतृत्वले यसको गतिशिलतामा थप टेवा पुग्ने बताए । उनी वर्तमान कार्यसमितिका उपाध्यक्ष समेत हुन् ।
उनले इक्यानमा आफ्नो सक्रिय संलग्नता, पहुँच, व्यापार वृद्धि, नीति निर्माण र यसको अभ्यासमा ध्यान दिने बताए । सरल र मिजासिलो स्वभावका भट्टराईले व्यवसायीहरुको साथ समर्थन र सहयोगले नै अध्यक्षमा उम्मेदवारी घोषणा गरेको बताए ।
आफ्नोतर्फबाट व्यवसायीहरुको हकहित र पेशागत सुरक्षाको लागि जस्तोसुकै परिस्थितिमा पनि खट्ने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो पूरै प्यानललाई विजयी गराउन उनले इक्यानका सदस्यहरुलाई आग्रह गरे ।
भट्टराईसँगै अध्यक्षको लागि बिष्णुहरी पाण्डे समेत प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् भने अन्य दुईजना एकल रुपमा अध्यक्षमा चुनाव लड्दैछन् । उनीहरुले पनि आफ्नो उम्मेद्वारी दर्ता गराइसकेका छन् ।
इक्यानमा नयाँ नेतृत्वका लागि सहमति नजुटेपछि निर्वाचनमा जान लागेको हो । इक्यानमा ४६७ मतदाता रहेका छन् ।
यसपटकको इक्यान नेतृत्वको माहोल भने विगतका तुलनामा निकै फरक देखिएको छ । विगतका २ वटा निर्वाचनलाई हेर्दा राजनीतिक हावी भएको निर्वाचनमा यसपटक भने त्यो निकै कम देखिएको छैन ।
पछिल्लो निर्वाचनमा नेकपा र कांग्रेसले आ–आफ्ना प्यानल बनाएरै निर्वाचनमा होमिएका थिए । जसमा गत निर्वाचनमा नेकपाको समर्थन रहेका विष्णुहरि पाण्डे विजयी भएका थिए ।
