काठमाडौ । अब श्रवणशक्ति गुमाएकाहरूको उपचारको सहजताका लागि दोभासे नै राखेर उपचार सेवा उपलब्ध हुने भएको छ । यस्तो सेवा जावलाखेलस्थित क्लिनिक वानले दिन लागेको हो ।
बिहीबार श्रवणशक्ति गुमाएका वा कम श्रवणशक्ति भएका व्यक्तिहरूका लागि केन्द्रित गरेर क्लिनिक वान र राष्ट्रिय बहिरा तथा सुस्त श्रवण संघबीच क्लिनिक वानमा दोभासे राखेर उपचार गराने सम्झौता भएको छ ।
क्लिनिक वानले श्रवणशक्ति गुमाएकाहरूको उपचारमा समेत सहज होस् भन्ने उद्देश्यले सो व्यवस्था गरेको क्लिन वानका सञ्चालक रघु राणाले जानकारी दिए । श्रवणशक्ति गुमाएकाहरूलाई विभिन्न परीक्षणको सेवामा २५ प्रतिशत छुटको समेत व्यवस्था गरिएको राणाले बताए ।
‘दोभासेको प्रयोगले उनीहरूले सही परामर्श पाउनेछन् । जसका कारण उनीहरूमा स्वास्थ्यसम्बन्धी विश्वास बढ्नेछ । हामीले उनीहरूको मर्कालाई बुझेर यो थालनी गरेका हौं,’ राणाले भने ।
त्यस्तै, औषधि र खोपमा १० प्रतिशत र राष्ट्रिय बहिरा तथा सुस्त श्रवण संघको सिफारिसपत्र ल्याएर आउनेहरूको हकमा भने सम्पूर्ण सेवा नि:शुल्क हुने राणाले बताए । क्लिनिक वान २०७२ सालदेखि सञ्चालनमा आएको हो ।
